रसुवा– माघे संक्रान्तिमा हरेक वर्ष गोरु जुधाउने मेला हुँदै आएको रसुवा र नुवाकोटमा यस पटक २७ हल गोरु जुधाइने भएको छ।
माघ १ गते हुने गरेको मेलामा रसुवाको बेत्रावती र नुवाकोटको तारुकामा गरी २७ हल गोरु जुधाउन लागिएको हो। बेत्रावतीमा ९ हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाउन लागिएको आयोजकले जनाएका छन्।
बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लब र तारुकामा माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले मेलाको तयारी तीव्र रुपमा गरिरहेका छन्।
नेपाल र तिब्बतबीच वि. सं १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने गरेको छ। बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लबले ०५३ सालदेखि व्यवस्थित रुपमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेको बताइन्छ।
त्यस्तै, वि.सं. १८८७ सालदेखि नुवाकोटको तारुकामा सुरु भएको गोरु जुधाइलार्ई ०६२ सालदेखि स्थानीय युवाहरुले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्द्धनमा केन्द्रित रहेर व्यवस्थित रुपमा आयोजना गर्न थालेको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले बताएको छ।
बझांगी राजा जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा मनोरञ्जन दिन गोरु जुधाइएको सम्झनामा त्यहाँ मेला आयोजना हुने गरेको हो।
माघ १ को गोरु जुधाइ हेर्न रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका लगायतबाट मानिसहरु बेत्रावती र तारुका आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।