काठमाडौं– प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनमा तानिएपछि यस विषयमा धारणा बनाउन कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले सल्लाहकार र कार्यसमिति बैठक बोलाएको छ।
उच्च अदालत बारले बुधबार साँझ नै विज्ञप्ति जारी गर्दै पराजुली छानबिनको दायरामा परेकाले नैतिकताको आधारमा उचित निर्णय लिन ध्यानाकर्षण गरेको थियो। यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बार एसोसिएसनले आाधिकारिक धारणा बनाउन विषयमा सल्लाहकार बैठक डाकिएको बारका महासचिव खम्बबहादुर खातीले बताए।
बारको सल्लाहकार समितिमा पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ताहरु छन्। शुक्रबार सल्लाहकार बैठकपछि कार्यसमिति बैठक बसेर बारले आधिकारिक धारणा सार्वजनिक गर्ने महासचिव खातीले बताए।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामाथि सुनुवाइ गर्दा सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीका दुवै नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उनी पदमा बस्न हुने वा नहुने भन्नेबारे प्रश्न उठिरहेका बेला बारले बैठक बोलाएको हो। बारले यसअघि पनि संवैधानिक जटिलताबारे निर्णय लिनुअघि सल्लाहकारको राय लिने गरेको थियो।
एकथरी कानुन व्यवसायीहरुले छानबिनको समयसम्म पराजुली सर्वोच्चको नेतृत्वबाट अलग हुनुपर्ने माग गरिरहेका छन् भने केहीले प्रमाणपत्र मात्र माग भएकाले न्याय सम्पादन रोक्न जरुरी नहुने तर्क गर्दै आएका छन्। नागरिक समाजका सदस्यहरुले पनि पराजुलीले नैतिकता देखाउनुपर्ने भन्दै आएका छन्।
प्रा डा शशि शर्माको चार वर्ष पुरानो मुद्दामा फैसला गर्दै प्रधानन्याधीशसहितको इजलासले उनलाई ४ दिनकै लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीन पदमा पुनर्वहाली गरेपछि डा केसीले अनसन गर्ने घोषणा गरेका थिए। वरिष्ठता वा मापदण्डका आधारमा शर्मालाई नियुक्त नगरिएको भन्दै चार वर्षअघि डा केसी अनसन बसेपछि सरकारले उनलाई नियुक्त भएको करिब एक सातापछि नै डीनबाट हटाएको थियो।
सो फैसलापछि डा केसी प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै अनसन बसेका थिए। उनले पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए। यस्ता आरोपले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालत आफैंले प्रतिवेदन उठाएर केसी विरुद्ध अवहेलना मुद्दा लगाएको थियो।
सर्वोच्चकै एकल इजलासले डा केसीलाई पक्राउ गरेर अदालत ल्याउन प्रहरीलाई आदेश गरेको थियो। सोमबार दिउँसोको आदेशपछि प्रहरीले सोही राति केसीलाई पक्राउ गरेको थियो। मंगलबार केसीको बयान लिएपछि सर्वोच्चको इजलासले बुधबार पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएको थियो। सर्वोच्चले शशि शर्माको फैसला पनि झिकाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।