काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकताका बाँकी काम मूलभूत रुपमा टुंग्याएको छ।
मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलले एकताको कामलाई निष्कर्षमा पुर्याएको हो। बैठकमा अध्यक्षद्वयका साथसाथै महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी थिए।
'एकता, एकीकरणसँग सम्बन्धित सम्पूर्ण विषयमा गृहकार्य सम्पन्न भयो। अब छिट्टै बस्ने सचिवालय बैठकमा त्यो प्रस्तुत हुन्छ। र त्यसलाई औपचारिक निर्णय गर्छ। त्यसपछि एकता र एकीकरणको काम सकिन्छ', पार्टी महासचिव विष्णु पौडेलले नेपाल लाइभसँग भने।
उनले सचिवालय बैठक छिट्टै बस्ने बताए।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच अघिल्लो वर्ष जेठ ३ गते एकता भएको थियो। १४ महिनासम्म पार्टी एकताका केही काम टुंगिन बाँकी थिए। विशेषगरी केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग तथा आयोगहरु टुंगिन बाँकी थिए।
आजै दिउँसोको एउटा कार्यक्रममा प्रचण्डले बेलुकासम्म पार्टी एकताको काम टुंगिने बताएका थिए।
'केहीकेही बाँकी रह्यो भने त्यो सामान्य टेक्निकल कुरामात्रै हुन्छ', प्रचण्डले भनेका थिए, 'यो विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु।'
ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले टुंगिएको विषयलाई सचिवालय, स्थायी समिति तथा केन्द्रीय समितिबाट अनुमोदन गराइने बताए।
पार्टी एकताको बाँकी काम असार मसान्तभित्रै सक्ने भनिएको थियो। 'असार मसान्तसम्म सक्ने भनेर अर्का अध्यक्ष ओली र मैले यो महिनाभित्र पार्टी एकताको सबै काम टुंग्याउने भनिएको छ', प्रचण्डले भनेका थिए, 'हामी केही दिनदेखि लागिरहेका पनि छौं। म केहीबेरमा फेरि बैठकमा जाँदैछु।'
प्रचण्डले एकताको काम सकेपछि देशभरि अभियानमा जाने बताएका थिए। 'केही महिनाभित्र हामीले पार्टी कमिटीहरुलाई र जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने सम्बन्धमा नेतृत्व समेत संलग्न भएर अभियान चलाउनेतिर हामी सोचिरहेका छौं', उनले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।