काठमाडौं- अविरल वर्षाका कारण कुलेखानीको ड्याम भरिएपछि पूर्ण संचालनमा रहेका कारण नेपालको विद्युत भारत निर्यात भएको छ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले नेपालको विद्युत भारतमा निर्यात भएको जानकारी दिएका हुन्।
नेपालबाट भारततर्फ सोमबार १ सय ५० मेगावाट विद्युत निर्यात भएको र मंगलबार २ सय मेगावाट विद्युत् निर्यात गरिने उनले बताएका हुन्।
कुशाहा-कटैया प्रसारण लाइनबाट १ सय १० मेगावाट र बाँकी विद्युत रक्सौल-परवानीपुर प्रसारण लाइनबाट निर्यात भएको जानकारी दिइएको छ।
नेपालका नदीमा पानीको बहाब प्रशस्त भएको र पूर्ण क्षमतामा विद्युत आयोजना संचालन भएसँगै भारततर्फ विद्युत निर्यात भएको हो।
यसअघि नै नेपाल र भारतबीच विद्युत व्यापार तथा इनर्जी बैंकिङ सम्बन्धी सम्झौता भइसकेकाले नेपालमा विद्युत उत्पादन बढी हुने बित्तिकै भारततर्फ निर्यात गर्न संभव भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।