काठमाडौं- सर्वोच्च अदालतको बुधबारको आदेशपछि प्रधानन्यायाधीश गोपाल पराजुली छानबिनमा तानिएसँगै उच्च अदालत बार एसोसिएसनले नैतिकताका आधारमा उचित निर्णय लिन पराजुलीको ध्यानाकर्षण गराएको छ।
डा गोविन्द केसीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले लगाएको मुद्दामा बहस सुनेपछि न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले प्रधान्यायाधीशका दुवै नागरिकता, उमेर विवादसम्बन्धी न्यायपरिषदको निर्णय र शैक्षिक प्रमाणपत्र झिकाएको छ। यसरी सर्वोच्चकै छानबिनको घेरामा परेपछि प्रधानन्यायाधीशले नैतिकताका आधारमा उचित निर्णय लिन उच्च बारले विज्ञप्ति निकालेर ध्यानाकर्षण गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र र सक्षम न्यायपालिकाका प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र र नागरिकताका सम्बन्धमा उठेका सार्वजनिक विवादहरु अब सर्वोच्च अदालतकै छानबिनको घेरामा परिसकेको सन्दर्भमा सार्वजनिक जवाफदेहीमा रहने हरेक पदाधिकारीले आफ्नो नैतिकतालाई कुन धरातलमा राख्ने हो, सो को निर्धारण आफैं गर्नुपर्ने हुनाले यस सम्बन्धमा उचित निर्णय लिन यस बार सम्माननीय प्रधानन्यायाधीशको ध्यानाकर्षण गर्दछ।’
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन भने यस विषयमा मौन छ। केसीले समेत बयानमा बार मौन बसेको आरोप लगायका थिए।
बुधबारको बहसमा डा गोविन्द केसीका वकिलले प्रधानन्यायाधीश पराजुलीले कीर्ते नागरिकता बनाएको भन्दै उनी विरुद्ध कारबाही चलाउन भनेका थिए। पराजुलीको राजीनामा र उनले गरेका फैसलाबारे छानबिनको मागसहित डा केसी अनसन बसेपछि अदालतको अवहेलनामा उनलाई सोमबार पक्राउ गरिएको थियो।
डा केसीले पराजुलीलाई भ्रष्ट र माफिया भएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।