काठमाडौं- काठमाडौं महानगरपालिकाका भित्री शहरी क्षेत्रका केही भागमा पूर्ण र केही भागमा आंशिक रुपमा चारपाङ्ग्रे सवारी साधन निषेध गरिने भएको छ।
काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै शहरी क्षेत्रको मौलिकतालाई बढ्दो सवारी अव्यवस्थाले अतिक्रमण गरेकाले सो निर्णय गरिएको जानकारी दिएको छ। महानगरको निर्णय माघ २ गतेबाट लागू हुनेछ।
महानगरपालिकाका अनुसार, भोटाहिटीदेखि असनसम्मको दुईतर्फी सडकमा चारपाङ्ग्रे सवारी साधन पूर्णरुपमा प्रतिबन्धित हुनेछ। त्यस्तै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याठाबाट त्यौड, ठँहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुतर्फको सडकमा पनि चारपाङ्ग्रे प्रवेश गर्न पाउने छैनन्।
नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी रुपमा चारपाङ्ग्रे सवारी लैजान सकिनेछ। यसरी एकतर्फी गरिएका अन्य सडकमा टेङ्गालबाट बाङ्गेमुढा, भेडासिंह हुँदै इन्द्रचोकसम्मको सडक, क्षेत्रपाटीबाट ठँहिटी हुँदै नघल बाङ्गेमुढा, भेडासिंह हुँदै इन्द्रचोक सम्मका सडक रहेका छन्।
पत्रकार सम्मेलनमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आधुनिक सुविधा उपयोग र मौलिकताको संरक्षण अन्तरसम्बन्धित विषय रहेको बताउँदै दुवै पक्षलाई सन्तुलन गरिनुपर्ने बताइन्।
काठमाडौंमा पर्यटकको आकर्षण बढाउनुका साथै स्थानीयको आय बढाउन अहिलेको अस्तव्यवस्थामा क्रमिक रुपमा सुधार ल्याइने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।