काठमाडौं– अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीलाई सर्वाेच्च अदालतले तारेखमा छाड्ने आदेश दिएपछि छुटेका छन्। उनको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ।
वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मेवारीमा डा.केसी छुटेका छन्। वरिष्ठ अधिवक्ता भण्डारीले डा.केसीको पक्षमा बहस गरेका थिए।
थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले तारेखमा छाड्ने आदेश दिएको हो।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्ति सम्बन्धी अदालतको फैसला विरुद्ध अभिव्यक्ति दिएको भन्दै डा केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो। मंगलबार उनको अदालतमा बयान भएकोमा बुधबार दुवै पक्षका अधिवक्ताहरुले बहस गरेका थिए।
बहसपछि प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकता झिकाउने आदेश समेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।