काठमाडौँ- भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा जोखिमयुक्त बस्तीको स्थानान्तरण कार्य सुरु भएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि रु दुई लाखका दरले अनुदान दिएर सुरक्षित स्थानमा घडेरी खरिद गर्न लगाएको प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले बताए।
प्राधिकरणको अगुवाइ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको साबिकको गाती गाविसका १८ घरधुरीलाई बाह्रबिसे नगरपालिका वडा नं–३ मा स्थानान्तरण गर्न जग्गा व्यवस्थापन गरिएको हो।
सरकारले दिएको प्रतिपरिवार रु दुई लाख अनुदानमा लाभग्राहीले रकम थप गरी कम्तीमा साढे दुई आनादेखि आठ आनासम्म घडेरी खरिद गरेका छन्।
जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रतिघर रु दुई लाख सरकारले अनुदान दिँदै आएको छ। जोखिमयुक्त बस्तीका पीडितले निजी आवास पुनःनिर्माण गर्न पनि रु तीन लाख पाउँछन्।
जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भई थप रु दुई लाख अनुदान पाई जग्गा खरिद गरेकाले १० वर्षसम्म घडेरी बेचबिखन गर्न पाइँदैन। तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनःनिर्माण गर्ने सर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिकरणका सचिव मधुसूदन अधिकारीले जानकारी दिए।
जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रक्रियालाई अघि बढाउन कार्यकारी समिति सदस्य शर्मा, प्राधिकरणका सचिव अधिकारी सहितको टोली केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त बस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।