राजविराज– दुई दिन घाम लागेपछि सर्वसाधारणले राहत महसुस गरिरहँदा सप्तरीमा बुधबार बिहानैदेखि शीतलहर चलेपछि जनजीवन फेरि कष्टकर बनेको छ।
चिसोकै कारण मृत्यु हुने क्रम पनि रोकिएको छैन। पछिल्लो पटक छिन्नमस्ता गाउँपालिका ७ मा १३ महिने बालक र शम्भुनाथ नगरपालिका २ मा ७ वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार बिहानै छिन्नमस्ता गाउँपालिका ७ हाटीमा १३ महिने बालकको मृत्यु भएको हो। दुई दिनदेखि बिरामी रहेका बालकलाई उपचारपछि घर फर्काइएको र घरमै उनको मृत्यु भएको स्थानीय अशोक शर्माले जानकारी दिए।
यस्तै, शम्भुनाथ नगरपालिका २ स्थित आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत ७ वर्षीय बालक जितेन्द्र सदाको पनि चिसोका कारण मृत्यु भएको स्थानीयले बताएका छन्।
मंगलबार सप्तकोशी नगरपालिका १ फत्तेपुर निवासी ६२ वर्षीय अर्जुन पोखरेलको शीतलहरकै कारण मृत्यु भएको थियो। दमको समस्याले थलिएका पोखरेलको शीतलहरले मृत्यु भएको मेयर उत्तमकुमार गौतमले जानकारी दिए।
योसहित सप्तरीमा शीतलहरबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्थानीय प्रशासनले भने हालसम्म चिसोले पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ।
कम्बल वितरण
सप्तरीका विभिन्न स्थानमा शीतलहरबाट कठ्यांग्रिएका प्रभावितहरुलाई कम्बल वितरण गर्न थालिएको छ। जिल्ला दैवी प्रकोप उद्दार समितिले जिल्लाका विभिन्न स्थानमा गरिब र दलित परिवारलाई कम्बल वितरण गरेको संयोजक तथा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए।
यसैगरी, लागूऔषध दुव्यर्सनीको पुनर्स्थापनाका लागि काम गर्दै आएको नार्कोनन नेपालले पनि बुधबार राजविराज, मोहनपुर, मौवाहा, लालापट्टी, सखडा र कोचाबखारीमा गरी ३ सय थान कम्बल वितरण गरेको छ।
यस्तै, धुर्मुस सुन्तली फाउन्डेसनले तिलाठी कोइलाडी गाउँपालिका ४ र ८ का दलित बस्तीमा १ सय ५२ थान कम्बल वितरण गरेको छ। फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले स्थानीयलाई कम्बल बाँडेका थिए।

चिसोले जनजीवन कष्टकर भएपछि सप्तरीका विभिन्न बजार तथा मुख्य चौकहरुमा जिल्ला वन कार्याल, दैवी प्रकोप उद्दार समिति र प्रहरीले आगो ताप्ने व्यवस्था मिलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।