काठमाडौं- डा गोविन्द केसीको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन गर्नुपर्ने र बयानका लागि इजलासमै झिकाउन माग गरेका छन्।
वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी, श्रीहरि अर्याल र दिनेश त्रिपाठीले सर्वोच्च अदालतको इजलास समक्ष यस्तो माग गरेका हुन्।
केसी पक्षमा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले पराजुलीले कीर्ते गरेर नागरिकता निकालेको भन्दै सो कार्य नागरिकता ऐन अनुसार कीर्ते भएको दाबी गरे। विभिन्न दस वटा बुँदा पेश गर्दै भण्डारीले पराजुली माफिया, भ्रष्ट र अपराधी भएकोमा कुनै शंका नरहेको पनि दाबी प्रस्तुत गरे।
हरेक मेडिकल कलेजका मुद्दा पराजुलीको इजलासमा परेको र आदेश पनि जारी भएको फेहरिस्त प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले पराजुली पुनरावेदन अदालतदेखि सर्वोच्चसम्म माफिया नै भएको दाबी गरेका थिए।
'पराजुलीले आफू प्रधानन्यायाधीश भए लगत्तै पदीय दुरुपयोग गर्दै आफन्त नहकुल सुवेदीलाई रजिष्ट्रार, मुख्य रजिष्ट्रार र मुख्य न्यायाधीश कसरी बनाए? यो पदको दुरुपयोग र भ्रष्टाचार हो', भण्डारीले बहसका क्रममा भने।
यस्तै, वरिष्ठ अधिवक्ता अर्यालले पुनरावेदन र उच्च अदालतका न्यायाधीशबाट पराजुलीले आफन्त मार्फत घुस खाने गरेको आरोप लगाए। सर्वोच्चबारे केही वर्षअघि आफूले गरेको विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययनमा यस्तो खुलेको अर्यालले बताए। आफूले ६ वर्षअघि प्रतिवेदन दिए पनि कार्यान्वयन नभएको भन्दै किन भएन भनी प्रश्न समेत गरेका थिए।
अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशको आलोचना गर्न पाइने विश्वको परम्परा रहेको दाबी गरे।
बहस सुरु हुनुअघि डा केसीले आजै इजलासमा बोल्दै अदालतप्रति सम्मान रहेको तर पराजुली माफिया र भ्रष्ट नै रहेको बताएका थिए। अदालतको अवहेलना गरेको भन्दै सोमबार पक्राउ परेका डा केसीसँग हिजो बयान लिइएको थियो भने आज बहस भइरहेको छ।
यो पनि पढ्नुहोस्-
डा केसीले सर्वोच्चको इजलासमै भने- पराजुली माफिया र भ्रष्ट नै हुन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।