कैलाली- थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको रौनक सुरु भएको छ। कैलालीका थारूहरु यतिबेला माघीका लागि दुनाटपरी बनाउनेदेखि मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा जुटेका छन्।
नेपालको पश्चिम तथा मध्य तराईका थारू समुदायको माघी सबैभन्दा ठूलो पर्व हो। माघे संक्रान्तिलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउन गरेका छन्। माघीमा आफन्त तथा साथीसहित ढिक्री, मासु लगायतका परिकार खाने, खुवाउने चलन छ। ढिक्री थारू जातिको मौलिक पकवान हो। थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा मनाउने भएकाले साता अघिदेखि नै माघीको रौनक सुरु हुने गरेको थारु अगुवाहरू बताउँछन्।
पछिल्लो समय माघीमा नुहाउने नदीखोला किनारामा मेला आयोजना गर्ने चलन पनि बढ्दै गएको छ। कैलालीका घोडाघोडी ताल, पथरैया नदी, कर्णाली नदी लगायतका नदीका घाटमा माघी मेलाको तयारी थालिएको छ। यो समयमा स्नान गरेमा आफूले चिताएको मनोकामना पूरा हुने, निःसन्तानले सन्तान, सुखशान्ति तथा समृद्धि प्राप्त हुने भन्ने धार्मिक विश्वास रहेको छ।
माघे संक्रान्तिको अवसरमा घोडाघोडी, धनगढी, भजनी नगरपालिकाको विभिन्न ठाउँमा मेलाको आयोजना गरिँदैछ। घोडाघोडी नगरपालिका वडा नम्बर ७ कीर्तिपुर र वडा नम्वर १२ को नकफोडुवामा मेला लाग्ने गर्छ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर, ९ बंगराकटान माघी मेला समितिको आयोजनामा पुस ३० देखि माघ एक गतेसम्म माघी मेला हुने भएको छ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति बचाउने हाम्रो। मेची महाकाली भाइभाइ, मेलामा आउनेलाई हार्दिक बधाई’ नाराका साथ बंगराकटानमा दुई दिने महोत्सव आयोजना गरिने मेला समितिका संयोजक ओमप्रकाश चौधरीले बताए।
मेलामा थारु कला र संस्कृतिका साथै ढिक्री, अन्दीको भात, रोटी, तरुल, घोंगी, चट्नी, गँगटा, मुसाको मासु, बंगुर, सिद्रा, बयरको चट्नी, सक्करगन्जी लगायतका परिकार राखिने उनले जानकारी दिए।
थारू समुदायको भेषभूषा, कला, संस्कृति र पहिचानको संरक्षणमा सघाउ पुर्याउन महोत्सवको आयोजना गरिने महोत्सव मूल समिति संयोजक जनक चौधरीले बताए।
साबिकको श्रीपुर गाविसमा पाँच वर्षदेखि प्रत्येक वडामा पालैपालो माघी मिलन कार्यक्रम आयोजना हुँदै आएको थियो। यस वर्ष महोत्सव आयोजना गरिएको संयोजक चौधरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।