ललितपुर- नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस भूकम्प गएपछिको घर जस्तो भएको बताएका छन्।
प्रवक्ता नियुक्त भएपछि बुधबार पार्टी कार्यालय सानेपामा पत्रकारसँग छलफल गर्दै शर्माले कांग्रेसलाई मनोवैज्ञानिक उद्दार आवश्यक रहेको बताए।
'यसको पुनर्निर्माणको लागि अबको बैठकबाट प्रक्रिया सुरू हुनेछ', उनले भने।
उनले कांग्रेस अहिले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको र संक्रमणकाललाई अन्त्य गरेको तथा राष्ट्रव्यापी रूपमा चुनावमा पराजित भएको कुरालाई आत्मसात् गरेर उभिएको फरक दुई मनस्थितिमा रहेको उल्लेख गरे।
'यस्तो बेला कांग्रेसलाई नवीन ढंगले अगाडि बढाउनुपर्छ भन्ने मनोविज्ञान साझा छ', उनले भने, 'यसबारे केन्द्रीय कार्यसमिति बैठक बसेर गम्भीरतापूर्वक छलफल गरिनेछ।'
साथै, प्रवक्ता शर्माले मिडियाले राजनीतिक दलबाट पाउनुपर्ने सूचनाका निम्ति सहयोगी हुने प्रतिबद्धता समेत व्यक्त गरे।
शर्मालाई मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रवक्ता नियुक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।