बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन थालेको छ।
नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४ सय दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन थालेको हो।
छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन्।
छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानीय कुत्ती भुल बताउँछिन्। 'श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिँदा थप रु एक हजार मिल्यो,' उनले भनिन्, 'पैसा कमै भए पनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो।'
गाउँपालिकाले गरेको यो कार्यले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यलाई पनि खतरा नहुने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख अहेब प्रेमबहादुर चन्द बताउँछन्।
छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो।
गर्भावस्थामै छोरी भए गर्भ फाल्ने तथा भ्रुण हत्यामा कमी ल्याउनका लागि गत भदौबाट प्रोत्साहन दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।