रोल्पा- रोल्पामा मादक पदार्थ सेवनकै कारण बर्सेनि थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन्।
जिल्लामा मादकपदार्थ सेवनपश्चात् लडेर मर्नेको संख्यामा वृद्धि भइरहेको छ। २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो। मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो। चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
जिल्लामा भवितव्यअन्तर्गत सूचीकृत हुने अधिकांश घटना मदिरा सेवनकै कारण हुने देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।
मदिरा सेवनले लैंगिक हिंसाका घटनासमेत बढिरहेको देखिएको छ। कर्तव्य ज्यानदेखि जबर्जस्ती करणीसम्मका घटनाको कारकसमेत मादकपदार्थ सेवन देखिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ।
मादक पदार्थ न्यूनीकरणका लागि आमा समूहको सक्रियतामा विभिन्न अभियान सञ्चालन गरिएपनि सार्थकता पाउन नसकेको आमा समूहकी गौमाया केसीले बताइन्। प्रहरीको सहयोगमा मादक पदार्थ न्यूनीकरणका अभियान सञ्चालन गरे पनि अभियानले सार्थकता पाउन नसकेको उनको भनाइ छ।
परिवार विखण्डन, मृत्यु, हत्या तथा लैंगिक हिंसाको कारक मादक पदार्थ भए पनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद् रहेको केसीको भनाइ छ। आमा समूहको सक्रियतामा महिलाको सहभागितामा घरघर पुगेर घरेलु मादक पदार्थ नष्ट गर्ने अभियान चलाउँदा विभिन्न आरोप खेप्नुपरेको उनी बताउँछिन्।
जिल्लामा घट्ने लैंगिक हिंसाका शतप्रतिशत घटना मादक पदार्थ सेवनकै कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि आफूहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लैंगिक हिंसा न्यूनीकरणविरुद्धको जिल्ला कार्यकारी सञ्जालका अध्यक्ष श्रीकुमारी रोकाले बताइन्।
प्रहरीसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा सचेतना कार्यक्रम गरिरहेको भए पनि परिणाम अपेक्षाकृत उपलब्धिमूलक हुन नसकेको रोकाको भनाइ छ।
जिल्लामा धर्म, जाति र संस्कारका नाममा मादक पदार्थ सेवनमा छुट दिँदा विकृति बढिरहेको महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताइन्।
जिल्लामा हुने अधिकांश घटनाको कारक तत्व मदिरा नै भएको आफूहरुले पहिचान गरिसकेको हुँदा नियन्त्रणका लागि विशेष अभियान चाल्ने रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।