काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा गोविन्द केसीको आन्दोलन र अनशनलाई नानीमैयाँ प्रवृत्ति भनेर व्यंग्य गरेका छन्।
निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'अदालतको अवहेलना र अनशन दुवै फेसन हुन लागेको छ।' उनले थपेका छन्, 'नानीमैयाँ प्रवृत्तिको लोकप्रियता बुद्धिविलासका लागि त रमाइलै होला। तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनका लागि कति बुद्धिमत्तापूर्ण हुन्छ ख्वै?'
निधिले लगत्तै दोस्रो ट्विट गर्दै लेखेका छन्, 'सरकार, संसद र अदालत- तीन वटै (राज्यको अंग) मैले भनेअनुसार नै चल्नुपर्छ। 'आइ एम द स्टेट' होइन र यो? नानीमैयाँको पुलिंग अवतार र भक्तहरु...'
निधिले पञ्चायतकालमा लहैलहैमा चुनाव जितेकी नानीमैयाँसँग तुलना गरेर डा केसीको अनशन र उनलाई समर्थन गर्नेहरुप्रति आक्रोश पोखेका हुन्।
नानीमैयाँ दाहालले २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत चुनावमा काठमाडौंका दुई मध्ये १ सिटमा पञ्चालयका उम्मेदवारलाई पराजित गरेकी थिइन्। तत्कालीन नेकपा मालेका युवा नेताले पञ्चायती चुनावको वहिस्कार गर्न पञ्चायतका उम्मेदवार विरुद्ध छाडा शव्द बोल्दै हिँड्ने र कसैलाई वास्ता नगर्ने नानीमैयाँलाई उम्मेदवार बन्न हौस्याएका थिए। अन्ततः नानीमैयाँले पञ्चायतका उम्मेदवार कमल चित्रकारलाई पराजित गरिदिएकी थिइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।