काठमाडौं– नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले दिएको नयाँ जिम्मेवारीले आफूलाई गौरवान्वित र गम्भीर बनाएको प्रतिक्रिया दिएका छन्।
महाधिवेशनको दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी शर्मालाई दिएका हुन्। नेपाल लाइभसँगको कुराकानीमा शर्माले राष्ट्रव्यापी रुपमा कांग्रेसले भोगेको पराजयपछि नयाँ सम्भावनाको खोजी गर्ने सन्दर्भमा आफूले पाएको जिम्मेवारीलाई सतर्कता र धैयतापूर्वक निर्वाह गर्ने बताए।
‘राष्ट्रव्यापी रुपमा पराजयपछि पार्टीले नयाँ सम्भावनाको खोजी गर्दैछ,’ शर्माले भने, ‘यसकै जगमा टेकेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु।’
प्रवक्ताको जिम्मेवारीसँगै पार्टीका राम्रा कामलाई बाहिर ल्याउने र अस्पष्टतालाई चिरेर जाने कुरामा आफूले भुमिका खेल्ने शर्माको भनाइ छ।
‘नयाँ जिम्मेवारीसँगै रुपान्तरिक भएर बोल्नुपर्छ भन्ने लाग्दैन, हिजो पनि मैले राख्दै आएको कुरा पार्टीको धारणा थियो, अब मैले बोल्ने कुरा व्यक्ति मात्र नभएर संस्थासँग जोडिनेछ,’ शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।