काठमाडौं– वाम गठबन्धनको पार्टी एकता संयोजन समिति बैठकले प्रदेश सरकार र राष्ट्रिय सभा गठनका लागि संयुक्त कार्यदल गठन गरेको छ। कार्यदलले राष्ट्रयसभा निर्वाचनमा संयुक्त उम्मेदवारको विषयमा गृहकार्य गर्नेछ भने प्रदेश सरकारको विषयमा पनि सहमति जुटाउनेछ।
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलमा एमाले र माओवादी केन्द्रबाट ३–३ जना सदस्य छन्।
कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा वादल, वर्षमान पुन र मातृका यादव छन्।
लामो गृहकार्यपछि बसेको एकता संयोजन समितिको बैठकले सांगठनिक र सैद्वान्तिक विषय मिलाउन कार्यदल भने बनाउन सकेन।
संयोजन समितिको अर्को बैठकले भने सांगठनिक र सैद्धान्तिक विषयमा गृहकार्य गर्न कार्यदल गठन गर्ने एमाले नेता वामदेव गौतमले बताएका छन्। अर्को बैठक एमाले अध्यक्ष ओली बैंककबाट फर्किएपछि बस्नेछ। ओली स्वास्थ्य परीक्षणका लागि बुधबार एक हप्ताका लागि बैंकक जाँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।