वासिङ्टन- अमेरिकी न्याय मन्त्रालयका पूर्व परामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कङ्ग्रेस (संसद्) मा हुने सुनुवाइ जुलाई २४ मा हुने गरी समय सारिएको छ।
यसअघिको कार्यक्रमअनुसार उनीमाथिको सुनुवाइ आगामी साता (जुलाई १७)का लागि तोकिएको थियो।
सांसदहरूले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपमाथि उठेको म्युलरको प्रतिवेदनबारे हुने सुनुवाइलाई छोटो समयमा सम्पन्न गर्दा सबै सांसदले प्रशस्त समय पाउन नसक्ने भन्दै दुवै दलका सांसदहरूबाट आएको गुनासोलाई सम्बोधन गर्दै उक्त निर्णय भएको अमेरिकी अधिकारीले जनाएका छन्।
'सांसदले माग गरेअनुसार थप समय प्रदान गर्नका लागि जुलाई २४ का लागि सुनवाइ तय भएको छ,' अमेरिकी न्याय मन्त्रालयले भनेको छ।
नयाँ प्रबन्धअनुसार म्युलरको अनुसन्धान प्रतिवेदनमाथि संसद्को न्याय तथा गुप्तचर समितिमा यस पहिले तय गरिएभन्दा थप समय सुनुवाइ हुनेछ।
म्युलरले आफ्नो जिम्मेवारीअनुसार अनुसन्धान प्रतिवेदन तयार पारी सम्वन्धित निकायलाई बुझाएको भन्दै यसबारे सुनुवाइ हुनु जरूरी नभएको भन्दै सुनुवाइप्रति अनिच्छा प्रकट गर्दै आएका थिए। उनले आफूले प्रतिवेदनमा दिएको रिपोर्ट नै अन्तिम भएकोले रिपोर्टभन्दा बाहिर नजाने पनि बताएका छन्।
अमेरिकी न्याय समितिले भने म्युलरको रिपोर्टमा अमेरिकी राष्ट्रपतिको हस्तक्षेपका शृङ्खलाबारे सुनुवाइलाई लक्षित गर्ने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको आरोप छ।
म्युलरको ४ सय ४८ पृष्ठ लामो प्रतिवेदनमा ट्रम्पको निर्वाचन अभियान रुससँगको आपराधिक षड्यन्त्रसँग जोडिएको भनेर स्थापित नभएको उल्लेख गरेको छ। यद्यपि त्यसमा १० वटा त्यस्ता घटनाहरू उल्लेख गरिएको छ जहाँ सम्भवतः ट्रम्पले अनुसन्धानमा अवरोध पार्ने प्रयास गरेको देखिन्छ। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।