बेइजिङ- चालू आर्थिक वर्षको पूर्वार्द्धमा चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबरको कारोबार भएको चिनियाँ भन्सार विभाग (व्युरो)ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ।
गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो। विश्व व्यापारमा पछिल्लो समय संरक्षणवाद चर्केर गएको र विश्वमा आर्थिक वृद्धि पनि मन्द भएको दबाब चिनियाँ अर्थतन्त्रमा समेत परिरहेका समय चीनले यति राम्रो वैदेशिक व्यापार उपलब्धि हासिल गर्नु सजिलो काम नभएको भन्सार विभागले जनाएको छ।
यसबाट चीनको वैदेशिक व्यापारमा व्यापक लचिलोपना देखिएको र चीनको आर्थिक वृद्धि स्थिर तथा दीर्घकालीन रूपमा राम्रो दिशातिर जाने प्रवृत्तिको परिवर्तन नहुने देखिएको चीनको निष्कर्ष रहेको छ। चालू वर्षको पूर्वार्द्धमा चीनको वैदेशिक व्यापार समष्टिगत रूपमा स्थिरतासाथ अघि बढ्दै गइरहेको पनि बताइएको छ।
वैदेशिक व्यापार वृद्धिको जीवन्त शक्ति रहिरहेको साथै गैर–सरकारी उद्यमको आयात निर्यात वृद्धिदर ११ प्रतिशत भएको र चीनको वैदेशिक व्यापार वृद्धिको मुख्य शक्ति बनेको चीनको ठहर छ। चीनको मध्य तथा पश्चिमी भागको आयात निर्यात वृद्धिदर समस्त चीनको भन्दा उच्च भएको बताइएको छ।
त्यस्तै व्यापार साझेदारीमा विविधीकरण देखिएको बताउँदै विभागले चालू वर्षको पूर्वार्द्धमा चीनबाट अमेरिकालाई गरिने निर्यात ९ प्रतिशतले घटेको भए पनि युरोपेली संघ, आसियान तथा जापान आदि मुख्य व्यापार साझेदारसँगको आयातनिर्यातमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ। चीनको युरोपेली संघसँगको कारोबारमा ११.२ प्रतिशतले वृद्धि भएको, आसियान मुलुकसँगको कारोबारमा १०.५ प्रतिशतको वृद्धि भएको र जापानसँग १.७ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।
चीनको विशेष गरी बिआरआई सम्बद्ध मुलुकसँगको कारोबार वृद्धिदर ९.७ प्रतिशत भएको र वैदेशिक व्यापारको कूल रकममध्ये यो २८.९ प्रतिशत रहेको बताइएको छ। चीनको निर्यातजन्य उत्पादित वस्तुको बनौट अझ अनूकुल भएको पनि विभागले जनाएको छ।
समग्रमा विश्व व्यापारमा समस्या देखिएको भन्दै कतिपय मुलुकले संरक्षणवादी नीतिलाई रणनीतिक रूपमा अघि सारेका बेला चीनको वैदेशिक व्यापारको विकासमा सुधार देखिनु सकारात्मक भएको चीनको निष्कर्ष छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।