काठमाडौं- पार्टी एकता प्रक्रियालाई ठोस रुपमा अगाडि बढाउन नेकपा एमाले र माओवादी केन्द्रका नेता सम्मिलित एकता संयोजन समितिको बैठक मंगलबार बस्दैछ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोटमा बस्ने बैठक दिउँसो ३ बजेपछि सुरु हुनेछ।
एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओली, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र महासचिव इश्वर पोखरेल छन्। माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ सदस्य छन्।
दुवै पार्टीका शीर्ष नेताले पार्टीभित्र आन्तरिक छलफल गरेर एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेका हुन्।
बैठकले पार्टी एकता प्रक्रियालाई सहज बनाउन दुई वटा कार्यदल बनाउने तयारी गरेको छ। सैद्वान्तिक र सांगठनिक व्यवस्थापनका लागि दुई कार्यदल बनाउने र आवश्यक परे थप अर्को एउटा सानो कार्यदल बनाउने तयारी वाम गठबन्धनको छ।
माओवादी केन्द्रको सचिवालय बैठकले पार्टी एकता गर्ने सम्पूर्ण अख्तियारी अध्यक्ष दाहाललाई दिइसकेको छ।
एमालेको सोमबार सम्पन्न स्थायी कमिटी बैठकले पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अगाडि बढेको बताउँदै चाँडै पार्टी एकीकरणले पूर्णता पाउने बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।