काठमाडौं– नेपालले मलेसियाविरुद्ध शनिबार र आइतबार टी-२० सिरिज खेल्ने भएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा शनिवार विहान पौने ८ बजे खेल सुरु हुनेछ।
आगामी साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अभ्यास खेल खेल्न लागेको हो । आइतबार हुने दोस्रो अभ्यास खेल पनि किनरारा मैदानमै हुनेछ।
यो खेलपछि नेपाली टिम मलेसियाबाटै साउन ४ गते सिंगापुर जानेछ। उक्त छनोट खेलमा नेपाल कतार, मलेसिया, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेल कतारसँग साउन ७ गते, मलेसियासँऊ साउन ८ गते, कुवेतसँग साउन ११ गते र सिंगापुरसँग साउन १२ गते खेल्नेछ। यो प्रतियोगिताको च्याम्पियन विश्व छनोटमा पुग्नेछ। विश्व छनोट भने आगामी अक्टोबरमा युएईमा हुँदैछ।
टी–२० विश्वकप छनोटका लागि १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। तीमध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकपका लागि छानिनेछन्।
नेपाली टिममा पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन्। नेपाली टोलीका प्रमुख प्रशिक्षक उमेश पटवाल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।