विमान खरिदका लागि लिएको ऋणको तेस्रो किस्ता र ब्याज तिर्न सक्दैनौं : नेपाल एयरलाइन्स

नेपाल लाइभ | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 १५:१६:०० मा प्रकाशित

काठमाडौं– नेपाल एयरलाइन्सले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी विमान खरिदका लागि नेपाल सरकारको जमानीमा लिएको ऋणको किस्ता र ब्याजवापतको तेस्रो किस्ताको रकमसमेत भुक्तानी गर्न नसक्ने घोषणा गरेको छ।

शुक्रबार प्रतिधिसभाको अर्थ समितिमा भएको छलफलमा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याज तिर्न नसक्ने अभिव्यक्ति दिएका हुन्।

यसअघि निगमले पुस र चैतको किस्तासमेत बुझाउन सकेको थिएन। एयरलाइन्सले असार मसान्तसम्ममा तेस्रो किस्ता तिर्ने समयसीमा भए पनि विमान उडाएर गरेको आम्दानीबाट रकम तिर्न नसक्ने खरेलले सांसदहरुलाई जानकारी दिए।

‘एयरलाइन्सको पुँजी ३७ करोड मात्रै छ। त्यसमा पनि अधिकपुँजी ३० करोड मात्रै हो,’ खरेलले भने, ‘३७ अर्ब ऋणको भार थेग्न नसक्ने गरी आर्थिक संकट उत्पन भएको छ।’

एयरलाइन्सले विमान खरिदका लागि लिएको ऋणको किस्ता र ब्याज मात्रै मासिक १ अर्ब १३ करोड रुपैयाँ भन्दा बढी हुने जनाएको छ। ‘सरकारले निगमलाई २० अर्ब रुपैयाँ दिएको अवस्थामा ऋण १७/१८ अर्बमा झर्छ,’ खरेलले भने, ‘त्यसपछि मात्रै मासिक १३ देखि १७ करोड रुपैयाँ किस्ता र ब्याजवापतको रकम तिर्न सक्छौं’

नेपाल एयरलाइन्स लगातर नाफामा गए पनि चालू आवमा भने घाटामा जानेसमेत उनको भनाइ छ।

चालू आवमा ग्राउन्ड ह्यान्डलिङबाट हुने नाफाबाहेक आन्तरिक उडानतर्फ ४० करोड र अन्तर्राष्ट्रियतर्फ ४ अर्ब रुपैयाँ घाटामा जाने आँकलन भएको उनको भनाइ छ।

खरेलले सरकारले रकम दिनुपर्ने भन्दै गर्दा निगमको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालको अवस्थामा सरकारले नेपाल एयरलाइन्सलाई एक रुपैयाँ पनि रकम दिन नसक्ने बताएका थिए।

शुक्रबार फेरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटले पनि तत्कालको अवस्थामा अर्थलाई २० अर्ब रुपैयाँ दिन भन्दै सिफरिस गर्न नसक्ने स्पष्ट पारे।

समितिको छलफलमै सचिव सापकोटा र खरेलबीच आरोप-प्रत्यारोप चलेको थियो।