रन-वेबाट किन बारम्बार चिप्लिन्छ यतीको जहाज?

नेपाल लाइभ | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 १३:४५:०० मा प्रकाशित

काठमाडौं– नेपालगन्जबाट काठमाडौंका लागि ६६ यात्रु बोकेर उडेको यती एयरलाइन्सको जहाज अवतरणको क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लियो। ४ चालक दलसहित ७० जना रहेको एतीको एटीआर–७२ जहाज रन-वे (धावनमार्ग) बाट १५ मिटर पर घाँसेमैदानमा गएर धस्सिएको छ। उक्त दुर्घटनामा ३ यात्रु घाइते भएका छन्। यतिबेला विमानस्थल पूर्ण रुपमा ठप्प भएको छ। 

‘जहाज रन-वेबाट ननिकाल्दा सम्म उडान तथा अवतरण खुल्ने अवस्था छैन’, विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले भने, 'जहाज निकाल्ने काम तत्काल सम्भव देखिन्न। विमानस्थल कतिबेलादेखि सञ्चालन हुन्छ, निश्चित छैन।’

जहाज बिहान ११ बजेर ६ मिनेट जाँदा दुर्घटना भएको हो।

तर, रन-वेमा यतीको जहाज चिप्लिनै यो कुनै नौलो घटना होइन। अन्य वायुसेवा कम्पनीहरुको जहाज अवतरणका क्रममा रन-वेमा चिप्लिने घटना कमै मात्रामा सुनिन्छ।

यसअघि सन् २०१८ को सेप्टेम्बरमा पनि यतीको नाइन एन एचडब्लु कलसाइन जेट स्ट्रिम जहाज चिप्लिएको थियो। नेपालगन्जबाट २१ यात्रु लिएर जहाज काठमाडौं आउँदै थियो। उडान नम्बर ४२६ को जहाज बेलुका ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रन-वेबाट चिप्लियो। यद्यपि जहाजमा रहेका  यात्रु र चालक दलका ३ सदस्य भने सकुशल नै रहे। तर, जहाज भने घाँसेमैदानको हिलोमा गएर गाडियो।

जहाजको नोजल व्हिल भाँचिन पुग्यो। जसका कारण धावनमार्गमा अन्य जहाज ल्यान्ड गर्न नमिल्ने अवस्था आएको थियो। नोजल भाँचिएपछि जहाज भने सुरक्षित हुन पुगेको थियो।

एयरलाइन्सका प्राविधिक इन्जिनियरको सहयोगमा विमानस्थलका कर्मचारीले १२ घन्टापछि मात्रै जहाज रन-वेमा निकाल्न सफल भए। जहाजलाई पार्किङ क्षेत्रमा पुर्‍याएपछि मात्रै पूर्ण रुपमा बन्द रहेको विमानस्थल खुल्ला गरिएको थियो।

उक्त घटना पनि भारी वर्षा भएको अवस्थामा भएको थियो। आज पनि भारी वर्षा भएका अवस्थामा जहाज रन-वेबाट चिप्लिएको छ।

त्यतिखेर जहाज अवतरण गर्न सक्ने अवस्था नभएपछि पाइलटले जहाज ‘ओभरसुट’ गर्नुपर्ने अवस्था हुन्थ्यो। तर, पाइलटमा बढी आत्मविश्वास भएका कारण ठूलो वर्षा भइरहेको बेला पनि जहाज ‘ल्यान्ड’ गरिएको प्रारम्भिक अध्ययनले देखाएको थियो।

यतीका विमान चिप्लिने घटना बढ्दो
यती एयरलाइन्सको जहाज अवतरण गर्ने बेलामा बारम्बार समस्या आइरहेको छ। हालसम्मको इतिहास हेर्ने हो भने यतीको जस्तो समस्या बुद्ध, श्री, सिम्रिक लगायतका जहाजमा भने देखिएको छैन। 

अवतरणका क्रममा यतीका जहाज चिप्लिएर कहिले घाँसेमैदानमा जाने र कहिले रन-वेमा टायर लक हुने घटना घटिरहेको छ। 

यसअघि सन् २०१८ को सेप्टेम्बर २ (२०७५ भदौ १७) मा पनि यतीको नाइन एन एचडब्लु कलसाइन जेट स्ट्रिम जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रन-वेबाट चिप्लिएको थियो। 

२०७३ असोज ८ मा पनि यतीको जहाज भैरहवाका अवतरणको क्रम चिप्लिएको थियो। कल साइन नाइन एन एआइबी रहेको यती एयरलाइन्स काठमाडौंबाट दिउँसो सबा ४ बजे उडेको थियो। २९ यात्रु र ३ चालक दलका सदस्य रहेको विमान अवतरणका क्रममा चिप्लिएको थियो।

यसैगरी २०७५ असार ३ गतेपनि यतीको जहाज पोखरामा विमानस्थलमा अवतरणकै क्रममा रन-वेबाट चिप्लिएको थियो।

यसैगरी २०७४ बैसाख ४ गते भैरहवाको गौतमबुद्ध विमानस्थलमा यतीको जहाज दुर्घटनामा परेको थियो। काठमाडौंबाट उडेको जहाज विमानस्थलमा साँझ सवा ५ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटनामा परेको हो। पोखरा र चितवनमा पनि यतीका जहाज चिप्लिएका घटना भएका छन्।

तर, नियमक निकाय नेपाल नागरिक उड्डयन प्रधिकरणले प्राविधिक कुरा भन्दै  छानबिन गर्ने गरे पनि कारबाही गर्न भने चुकिरहेको छ।