काठमाडौं– दलहरुबीच सरकार गठनका विषयमा विवाद चलिरहँदा नेपाली कांग्रेसमा रामचन्द्र पौडेल पक्षले देउवालाई धक्का दिने समय आएको निष्कर्ष निकाल्दै एकजुट भएर अगाडि बढ्ने अनौपचारिक सहमति गरेको छ।
राजधानीमा भएको पौडेल पक्षको भेलाले देउवालाई सभापति र संसदीय दलको नेतामा धक्का दिने आन्तरिक सहमति समेत गरेको छ। पार्टीको नेतृत्वमा शशांक कोइराला, प्रकाशमान सिंह वा अन्य विकल्प खुला राख्दै देउवालाई पार्टी नेतृत्वमा हाबी हुन रोक्नुपर्नेमा भेलामा सहभागी सबै नेताको एकमत देखिएको एक नेताले बताए।
सात युवा नेतापछि पौडेल समूहले देउवा विरुद्ध एकजुट हुने तयारी थालेका हुन्। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाममा कांग्रेस कमजोर देखिएपछि गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे र गुरु घिमिरे लगायत युवा नेताहरुले कांग्रेसको पुनर्संरचना हुनुपर्ने र त्यसका लागि युवा पुस्ताले नेतृत्व पाउनुपर्नेमा जोड दिँदै आएका छन्।
पौडेल पक्षले सोमबार गरेको भेलामा पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायत नेता सहभागी थिए। भेलाको विषयमा सोध्दा पौडेलले चुनावी समीक्षा गर्दै सामान्य छलफल मात्र गरिएको बताए।
भेलामा समानुपातिक सिट बाँडफाँटमा देउवाले आफू निकट व्यक्तिहरुलाई ल्याउन सक्ने भएकाले त्यसमा चनाखो हुँदै खबरदारी गर्नुपर्ने आवाज उठेको थियो। निर्वाचनमा प्रत्यक्षतर्फ देउवा खेमाका अधिकांश नेता पराजित भएको र युवा नेतृत्व विजयी भएकाले त्यसको सदुपयोग गर्र्दै संसदीय दल र पार्टीका कब्जा जमाउन अग्रसर हुनुपर्नेमा भेलामा सहभागीहरु एकमत देखिएका बैठकमा सहभागी एक नेताले बताए।
भेलाले केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंंग गर्ने माग जोडदार रुपमा उठाउने निर्णय समेत गरेको छ। कार्यसम्पादन र संसदीय समिति विधान विपरीत भएको भन्दै भंग गर्नुपर्ने निष्कर्ष निकालेको नेता पौडेलले बताए। केन्द्रीय कार्यसम्पादन र संसदीय समितिबाट राजीनामा दिन देउवालाई आग्रह गर्ने सहमति भएको छ।
कांग्रेसमा २९ सदस्यीय कार्यसम्पादन समिति छ भने टिकट वितरणका लागि संसदीय समिति बनाइएको थियो। विधानमा बढीमा १४ सदस्यीय समिति हुने भने पनि २४ सदस्यीय बनेकाले कानुनसम्मत हुनुपर्ने कुरा उठाउने पौडेलले बताए।
भेलाले केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गर्ने पनि निर्णय गरेको छ। राष्ट्रियसभा निर्वाचनमा अहिलेसम्म अवसर नपाएका केन्द्रीय सदस्यहरुलाई अघि सार्नुपर्ने भेलाले जोड दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।