काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता अन्तिम र निर्णायक विन्दुमा पुगेकाले हल्लाको पछि नलाग्न आफ्ना नेताहरुलाई आग्रह गरेका छन्।
बालकोटस्थित ओली निवासमा पार्टी एकता र समसामयिक विषयमा छलफल गर्न बसेको स्थायी समिति बैठकमा ओलीले नेताहरुलाई यस्तो बिफ्रिङ गरेका हुन्। बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले अध्यक्ष ओलीले पार्टी एकताका लागि माओवादीसँग सकारात्मक कुरा भएको जानकारी गराएको बताए।
‘वाम गठबन्धन निर्माणसँगै फुटाउने र जुटाउने कार्यमा लाग्नेहरु निरन्तर लागिरहे पनि त्यसमा हामीले ध्यान दिन जरुरी छैन’, ओलीले बैठकमा भनेको कुरा उद्धृत गर्दै भट्टराईले बताए, ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र म देशलाई पाँच वर्षमा कसरी सञ्चालन गर्ने र एउटै पार्टी कसरी सफल रुपमा चलाउनेमा छलफल गरिरहेका छौं।’
पार्टी एकतालाई निर्णायक विन्दुमा पु¥याउनु अहिलेको पहिलो काम भएको भन्दै ओलीले सबैलाई समेटेर लैजाने आश्वासन समेत दिएका छन्। एकताका लागि सैद्धान्तिक र सांगठनिक दुई वटा कार्यदल बनाएर काम हुने भन्दै ओलीले मंगलबार एकता संयोजन समितिको बैठक डाकिएको जानकारी बैठकमा गराएका थिए।
जनमतलाई सरकारले अपमान गर्यो
अध्यक्ष ओलीले वर्तमान सरकारले जनमतको अपमान गरेको टिप्पणी बैठकमा गरेका छन्। जनताले निर्वाचनमा पहिलो शक्तिको रुपमा वाम गठबन्धनलाई मत दिएको तर सरकारले सत्ताामा टिकिरहन विभिन्न बहाना बनाइरहेको आरोप लगाउँदै ओलीले तत्काल सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न माग समेत गरे।
सचिव भट्टराईका अनुसार, सत्ता हस्तान्तरणका लागि कुनै कानुनी व्यवधान नहुँदा पनि सरकारले अनावश्यक झमेला झिकेको टिप्पणी ओलीले बैठकमा गरेका थिए। राम्रो जनमत नपाएपछि कांग्रेसले सत्ता हस्तान्तरणमा विवाद गरेको र त्यसको सजाय पनि जनताले दिने ओलीले बताएका थिए।
पद बाँडफाँट गर्न अलग्गै कार्यदल
एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पद बाँडफाँट र वैचारिक मतभेद टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल बनाउने निर्णय स्थायी समिति बैठकले गरेको सचिव भट्टराईले बताए। मंगलबार बस्ने पार्टी एकता संयोजन समितिले माओवादी र एमालेका तर्फबाट नेताहरु सम्मिलित गराई कार्यदल बनाउने निर्णय गरेको उनले बताए।
आइतबार राति एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सोमबार आन्तरिक तयारी गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।