काठमाडौं– नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने बताएक छन्। नेपालका राजनीतिक दलहरु मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो भएको भन्दै प्रचण्डले नयाँ सरकार गठनपछि नेपाल–भारत बीचको पारस्पारिक सम्बन्ध माथि उठ्ने बताएका हुन्।
नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलसँगको भेटमा प्रचण्डले त्यस्तो बताएका हुन्।
सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिनिधि मण्डलले प्रचण्डसँग भेट गरेको उनका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए । भेटमा प्रचण्डले नेपाल भारतबीच नयाँ सन्धि सम्झौताको आवश्यकता रहेको समेत बताएका छन्।
‘नेपाल–भारत बीच विगतका भएका असमान सन्धि प्रतिस्थापन गर्दै बदलिँदो परिस्थितिअनुसार नयाँ सन्धि गर्नुपर्दछ’, भेटमा उनले भने ‘खुल्ला सीमानाको व्यवस्थापन हाम्रो चासोको विषय हो। नेपाल–भारत बीचको सामाजिक–सांस्कृतिक र जनस्तरको सम्बन्धमा हामी सचेत छौ । तर, सीमा व्यवस्थापन गर्दै ढिलो चाँडो हामी सीमा सम्बन्धलाई अरु छिमेकी देशको जस्तै व्यवस्थापन गर्नुपर्छ।’
भेटमा समूहले नेपाल–भारत सीमा सम्बन्ध र सन्धि पूनरावलोकनबारे भएको प्रगतिबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ। प्रतिनिधि मण्डलले हालसम्म पाँचपटक द्वीपक्षीय बैठक बसेको र सन् १९५० को सन्धि र सीमा व्यवस्थापनबारे छलफल जारी रहेको जानकारी गराएको थियो।
‘गणतन्त्रको घोषणापछि हामी नयाँ युगमा प्रवेश गरेका छौं । विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धि सम्झौता र मूख्यतः सन् १९५० को सन्धि असमान रहेको छ,’ भेटमा प्रचण्डले भने,‘तपाईहरुले राष्ट्रिय हितका पक्षमा जुन चासों र जिम्मेवारी बोधका साथ भूमिका खेल्नुभएको छ, यसले नेपालको स्वाभिमानलाई उचो राख्न र नेपाल–भारत बीचको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्ने मेरो विश्वास रहेको छ ।’
भेटमा समूहका तर्फबाट डा. भेषबहादुर थापा, निलाम्वर आचार्य लगायत सहभागी थिए। माओवादीका नतोहरु राम बहादुर थापा, वर्षमान पुन लगायत समेत भेटमा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।