अछाम- अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा छाउपडी गोठमा सुतेकी २२ वर्षीया महिलाको मृत्यु भएको छ।
महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी गौरी बुढाको आइतबार राति मृत्यु भएको हो। उनी वीरेन्द्र बुढाकी श्रीमती हुन्।
मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत थिइन्। बेलुकीपख खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए। मृत्यु हुनु अघिल्लो दिनभर मेलामा खर काटेको र उनी बिरामी नभएको बुढाले जानकारी दिए।
नेपाल प्रहरीमा जागिरे मृतकका श्रीमान् काठमाडौँबाट फर्केपछि मात्र उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ।
गत वर्षमात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।