काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार शिवपुजन राय यादवले उम्मेदवार हुन पाउनुपर्ने माग गर्दै हालेको रिटमा सर्वोच्च अदालतले फैसला सुनाउँदै तामेलीमा राखेको छ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचन सकिएको भन्दै हाललाई तामेलीमा पठाएको हो। तामेलीमा राखेको मुद्दा निवेदकले निवेदन दिएमा पुनः ब्यूँताउन सकिन्छ। आवश्यक परेको समयमा पुनः सुनुवाइ गर्न सक्नेगरी मुद्दा किनारा लगाउनुलाई तामेलीमा राख्ने भनिन्छ।
कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको कारण देखाउँदै निर्वाचन आयोगले मंसिर ११ गते रायको उम्मेदवारी खारेज गरेको थियो। राय विरुद्ध सर्लाही क्षेत्र नम्बर ४ कै स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंह र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले आयोगमा गत कात्तिक १९ गते उजुरी दिएका थिए।
आफ्नो उम्मेदवारी खारेजी भएपछि रायले सर्वोच्चमा मंसिर १२ गते रिट हालेका थिए। उक्त रिटमा मंसिर १९ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।
सर्वोच्चले आफ्नो पक्षमा आदेश नसुनाएपछि रायले रिटलाई तामेलीमा पठाउन निवेदन दिएका थिए। सोही आधारमा सर्वोच्चले मुद्दा तामेलीमा पठाएको हो।
सर्लाही ४ मा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले जित हात पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।