फलेवास, पर्वत- जिल्लाका ६ सय ४९ जना भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्ताको अनुदान रकम लिन आएका छैनन्।
भूकम्पबाट पर्वतमा ५ हजार २६९ घर पूर्ण क्षति भएका थिए। तीमध्ये हालसम्म ४ हजार ५९९ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकमबापत रु ५० हजार लगिसकेको जिल्ला समन्वय समिति पर्वतले जनाएको छ। बाँकी ६४९ जना सम्झौता गर्नसमेत नआएका हुन्।
पर्वतमा दोस्रो किस्ता अहिलेसम्म पनि वितरण हुन सकेको छैन। पुनःनिर्माणका लागि प्राविधिकहरु नआउँदा लाभग्राहीले घर बनाउनसमेत पाएका छैनन्। बनाइसकेकाको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण हुन नसकेको जिल्ला समन्वय समितिका सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिए।
भूकम्पपीडितका लागि हालसम्म पर्वतमा रु २३ करोड १० लाख वितरण भइसकेको छ। थप २१ जनाका लागि रु १० लाख ५० हजार भुक्तानी गर्न सिफारिस गरिएको उनले जानकारी दिए।
पर्वतमा पुनःनिर्माणका लागि यही पुसबाट मात्रै १७ जना इन्जिनियर खटिएका छन्। पर्वतका सातवटै स्थानीय तहमा क्षतिको संख्याअनुसार उनीहरुलाई परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।