माउन्टेन एभरेष्ट ब्रुअरीले उत्पादन लुकाउँदै झन्डै साढे ४ करोड कर छली गरेको पुष्टि

नेपाल लाइभ | २०७६ असार २६ बिहीबार | Thursday, July 11, 2019 ११:५२:०० मा प्रकाशित

काठमाडौं– माउन्टेन एभरेष्ट ब्रुअरीले उत्पादन लुकाउँदै झन्डै साढे ४ करोड रुपैयाँ कर छली गरेको पुष्टि भएको छ।

ललितपुरस्थित ठूला करदाता कार्यालयले केही समय अगाडि उद्योगमा छापा मार्दैै सो सम्बन्धमा अध्ययन गरेको थियो। अध्ययनका क्रममा एभरेष्ट ब्रुअरीले उत्पादित बियर तथा कच्चा पदार्थको परिमाण कम देखाउँदै कर छली गर्दै आएको फेला परेको ठूला करदाता कार्यालय स्रोतले जानकारी दिएको छ।

एभरेष्ट ब्रुअरीलले अन्तःशूल्कतर्फ ३ करोड  ३८ लाख र  भ्याटतर्फ १ करोड १६ लाख गरी कूल ४ करोड ५४ लाख रुपैयाँ कर छली गरेको फेला परेको कार्यालयको भनाइ छ।

कार्यालयले एभरेष्ट ब्रुअरीलाई छली भएको कर बराबरको रकम दाखिला गर्न पत्राचारसमेत गरिसकेको जनाएको छ। पत्र बुझे पनि ब्रुअरीले ठूला करदाता कार्यालयबाट कर छली भएको भनि प्रमाणित भएको रकम भने बुझाएको छैन। ब्रुअरी प्रशासकीय पुनरावलोकनमा गइसकेको समेत कार्यालयको भनाइ छ।

एभरेष्ट ब्रुअरी उद्योगमा छापा मार्दा कार्यालयले कम्पनीले उल्लेख गरेको सञ्चित परिणामभन्दा कच्चा पदार्थ ३ हजार ४ सय १४ केजी र चीनी १ हजार ५ सय ५९  केजी कम परिमाणमा फेला पारेको थियो। यसैगरी उद्योगले उत्पादनतर्फ कार्यालयमा पेस गरेको ११ हजार ६ सय १५ वटा बियरका बिर्को कम परिमाणमा फेला पारेको जनाइएको छ।

यसको अर्थ कम्पनीले बियर उत्पादन गरी बिक्री गर्दा बिल पनि नकाटेको हुनसक्ने आशंका गरिएको छ।

‘स्टकमा बढी बियर देखिनु भनेको अन्तःशूल्कमा गढबढी गर्नु हो भने कम देखाउनु भनेको बिल नै नकाटी बियर बिक्री गर्ने गरेको बुझिन्छ,’ ठूला करदाता कार्यालय स्रोतले भन्यो, ‘यी सबै काम गर्नुको एउटै लक्ष्य हो कर छली गर्नु।’

यो पनिः

उत्पादन लुकाउँदै कर छली गर्ने बियर उत्पादन कम्पनी ठूला करदाता कार्यालयको निगरानीमा

टाइगर ब्रुअरीले उत्पादन लुकाउँदै झन्डै १० करोड कर छली गरेको पुष्टि