कञ्चनपुर- अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरका सामुदायिक विद्यालय आजदेखि तीन दिनका लागि बन्द भएका छन्।
जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले जिल्लाका सबै सामुदायिक विद्यालयमा यही पुस २४, २५ र २६ गते बिदा दिने निर्णय गरेको हो। 'अत्यधिक चिसोसँगै शीतलहर चल्न थालेपछि बालबालिकालाई विद्यालयमा पढाउनसमेत अप्ठेरो हुन थालेकाले विद्यालय बिदामा मिलान हुने गरी बिदा दिने निर्णय गरेका छौँ,' जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले भने।
विद्यालयमै आगो बालेर बालबालिकालाई पढाउनुपर्ने अवस्था आएकाले बिदा दिइएको उनले बताए।
चिसोले जनजीवन प्रभावित
अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरको जनजीवन नराम्ररी प्रभावित भएको छ। चिसो बढेसँगै सुकुम्बासी, निकुञ्ज पीडित तथा मुक्तकमैया बस्तीका बासिन्दा बढी प्रभावित भएका छन्। न्यानो लुगा र चिसो छल्ने सामथ्र्य नभएका गरिब बस्तीका बासिन्दा चिसोबाट बढी प्रभावित भएका हुन्।
पर्याप्त न्यानो लुगाफाटो नभएका कारण कठ्याङ्ग्रिँदो जाडोमा प्रभावित हुनुपरेको ढक्का निकुञ्ज पीडित शिविरमा बस्दै आएकी सरिता नेपालीले बताइन्।
चिसोका कारण गरिबीको मार खेप्दै आएका निकुञ्ज पीडित बस्तीका गर्भवती, सुत्केरी महिला, नवजात शिशु, विद्यालय जाने उमेरका केटाकेटी र वृद्धावस्थामा रुघाखोकी ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ।
बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण कृषकले लगाएको आलु, गोलभेँडा लगायतका तरकारीबाली समेत प्रभावित भएको छ।
बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, निमोनिया र श्वासप्रश्वास सम्बन्धी बिरामीको संख्या बढ्न थालेको छ।
बाक्लो हुस्सु र कुहिरोका कारण यहाँको यातायात सेवासमेत प्रभावित बनेको यातायात व्यवसाय समितिका अध्यक्ष नवीन भट्टले बताए।
चोकमा दाउरा बाल्ने व्यवस्था
शुक्लाफाँटा नगरपालिकाले अत्यधिक चिसो बढेपछि आजदेखि चोकचोकमा दाउरा बाल्ने व्यवस्था मिलाएको छ। वातावरण मध्यवर्ती सामुदायिक वनबाट निःशुल्क रुपमा दाउरा उपलब्ध गराई नगरपालिकाका चोक चोकमा बाल्ने व्यवस्था गरिएको हो।
झलारी बजार, वन समिति बजार, गर्जमुनि बजार र कलुवापुर बजारका ठाउँ ठाउँमा दाउराको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।