काठमाडौं– अधिवक्ता यज्ञमणि न्यौपानेले राजनीतिक दलहरुको आम्दानी र खर्च विवरण माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता गराएका छन्।
'देश र जनताको सेवाका लागि दल दर्ता गरेको नारा लगाउने पार्टीहरुले आर्जन गरेको सम्पत्तिका अपारदर्शी भएको' दाबी गर्दै उनले निवेदन दर्ता गरेका हुन् सूचना हक सम्बन्धी ऐन २०६४ को व्यवस्था अनुसार सूचना आयोगमा पुनरावेदन निवेदन हालिएको हो। न्यौपानले यसअघि पनि २०७४ मंसिर २९ गते आयोगमा सूचना माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनमा आयोगले राजनीतिक दल दर्ता सम्बन्धी ऐन प्रक्रिया अवलम्बन हुने भन्दै सूचना दिन अस्वीकार गरेको थियो।
एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि उनले सूचना माग गर्दै निवेदन दिएका थिए। तर कुनै पनि पार्टीले उक्त सूचना नदिएको आयोगमा दर्ता गरेको पुनरावेदनमा उल्लेख छ।
सूचना अधिकारी र कार्यालय प्रमुखले निवेदकले माग गरेको सूचना दिन अस्वीकार गरेमा वा सूचनावाट सन्तुष्ट नभएका आयोग समक्ष पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।
उनले सोमवार दर्ता गराएको पुनरावेदनमा निम्न माग राखिएको छ-
एमालेसँग
(क) पार्टीका सदस्यहरुले तिर्दै आएको रकम हालसम्म कति जम्मा भएको छ?
(ख) अन्य नेपाली, विदेशी नागरिक संघसंस्थाले कति रकम दिएका छन्?
(ग) नेपाल सरकारका कर्मचारी कसकसले कति रकम दिएका छन्?
(घ) स्थानीय तथा संघीय र प्रदेशका उम्मेदवारलाई पार्टीले कति सहयोग रकम दियो?
(ङ) कुनकुन बैंकमा हाल मौज्दात कति बाँकी छ?
(च) पार्टीसँग जम्मा भएको रकमको श्रोत के हो?
माओवादी केन्द्रसँग
(क) द्वन्द्वकालपछि विस्तृत शान्ति सम्झौतामा आउँदा पार्टीसँग कति रकम थियो?
(ख) जनसेना समायोजनमा नपरेका र समायोजनमा नगएका सेनालाई राज्यले दिएको रकमको आधा रकम पार्टीमा रहेको हुँदा उक्त रकम कुन अवस्थामा छ?
(ग) जनसेना राखिएको शिविरको आयव्यय कति हो?
(घ) पार्टीलाई सदस्यले बुझाएको रकम कति छ?
(ङ) नेपाल सरकारका कर्मचारी, स्वदेशी, विदेशी नागरिकले कति रकम सहयोग दिएका छन्?
(च) चुनावमा उम्मेदवारलाई कति रकम दिइयो?
(छ) पार्टीसँग बचत कति कुन बैंकमा कहाँ छ?
(ज) पार्टीसँग रहेको जम्मा रकमको श्रोत के हो ?
नेपाली कांग्रेससँग
(क) पार्टीका सदस्यहरुले बुझाएको रकम कति जम्मा भएको छ?
(ख) पार्टीका सदस्य, नेपाली, विदेशी नागरिक तथा संस्थाले कति सहयोग रकम दिएका छन्?
(ग) हालको चुनावमा पार्टीका उम्मेदवारहरुलाई कति रकम सहयोग दिइयो?
(घ) पार्टीसँग कति रकम जम्मा भएको छ, त्यसको श्रोत के हो?
(ङ) पार्टीसँग बचत कति छ र कुन बैंकमा छ?
निर्वाचन आयोगसँग
(क) स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभामा कुन शीर्षकमा कति खर्च भयो र फरक पर्ने कारण के हो?
(ख) निर्वाचनमा खरिद गरिएका सामग्रीको बिल र कहाँबाट खरिद गरियो?
(ग) राजनीतिक दलहरु एकीकरण हुँदा विलय हुँदा हालसम्म अपनाइएको आर्थिक व्यवस्थापनहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।