काठमाडौं– बुधबार एकैदिन सिभिल बैंकको १७ करोड ५३ लाख ५९ हजार ४ सय कित्ता प्रोमोटर सेयर बिक्री भएको छ।
प्रतिकित्ता १ सय रुपैयाँ दरका उक्त सेयर एकैदिन ठूलो परिमाणमा बिक्री भएपछि आज सिभिल बैंक कारोबार र सेयरमा भएको किनबेचको आधारमा नेप्सेमा पहिलो नम्बरमा देखियो।
सिभिल बैंकका अध्यक्ष ईच्छाराज तामाङसँग सम्बन्ध बिच्छेद गरेको भनिएकी उनकी पत्नी सिर्जना शाक्यको नाममा रहेको उक्त सेयर कर्मचारी सञ्चय कोषले किनेको हो।
सिभिल बैंकले केही समयअघि उक्त सेयर लिलाममार्फत बिक्रीका लागि सूचना जारी गरेको थियो।
तामाङ नै अध्यक्ष रहेको सिभिल ग्रुपअन्तर्गत सिभिल होम्स, सिभिल सहकारीलगायत संस्थाहरू पछिल्लो समय वित्तीय संकटबाट गुज्रिरहेको समाचार आइरहेका बेला उनले आफ्नो श्रीमतीका नाममा रहेको प्रोमोटर सेयर बिक्री गरेका हुन्।
प्रचलित कानुनी व्यवस्थाअनुसार पति वा पत्नी सञ्चालक समितिमा रहेका बेला संस्थापक सेयर बिक्री गर्न नपाउने व्यवस्था भएपनि तामाङ र शाक्यले सम्बन्ध बिच्छेदको प्रमाण सम्बन्धित निकायमा बुझाएपछि उक्त सेयर बिक्री गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।