मनाङ– देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ।
रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ। मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन्। पिउने पानीका मुहान जमेका छन्। खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ।
अत्यधिक चिसो बढेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन्। सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।
बाह्रै महिना चिसो हुने मनाङमा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्छन्। यो समयमा गाउँघरमा घर कुर्ने, चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्छन्।
जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडौं, पोखरा, चितवन लगायत भारतको वुद्धगयासम्म जाने गर्छन्। गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी, जिम्बु, पाँचऔँले लगायतका जडीबुटी लिएर मनाङका बासिन्दा कम चिसो हुने जिल्लातिर झर्ने गर्छन्।
मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारी बताउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।