तेह्रथुम- तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खुलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन्।
सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन्।
यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात सेवासमेत सञ्चालन गरेका छन्। म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म दैनिक एक/एक वटा जिप सञ्चालन भइरहेका छन्। कच्ची सडकबाटै भए पनि सवारी सञ्चालन हुन थालेपछि म्याङ्लुङबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने वाध्यता हटेको छ।
एकफन्को मारेर फिदिम पुग्नुपर्ने अवस्थामा जिप सञ्चालन हुन थालेपछि यस क्षेत्रका यात्रुलाई सुविधा मिलेको छ। सवारी साधन सञ्चालन नहुँदा म्याङ्लुङ र फिदिम आवतजावत गर्दा पाँच जिल्ला हुँदै महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने वाध्यता थियो भने कम्तिमा २ दिनको यात्रा तय गर्नुपर्थ्यो।
म्याङ्लुङ बसपार्कबाट फेदापको पोक्लाबाङ हुँदै थोक्लुङ–माझीटार सडकखण्डबाट ५ घन्टामा फिदिम पुगिने जिप चालक कुमार लिम्बूले बताए। 'सडक कच्ची भए पनि चाँडै पुगिन्छ, यात्रु पनि पर्याप्त छन्,' चालक लिम्बूले भने। प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्दसमेत हुन थालेपछि अहिले तेह्रथुमबाट पाँचथर, इलाम, झापा हुँदै मोरङ आउनेले समेत यही सडकलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न थालेका छन्।
तेह्रथुमबाट ताप्लेजुङ र इलाम जान यो सडक भएर सार्वजनिक सवारीबाटै एकै दिनमा पुग्न सक्छन्। 'यो बाटो भएर ताप्लेजुङ, इलाम जाने पनि धेरै छन्, भाडा पनि सस्तो पर्छ,' व्यवसायी सन्तोष निङ्लेकुले भने। अहिले बाटो खोलेसँगै सवारी सञ्चालन भए पनि वर्षा लागेपछि भने यो सडक सञ्चालन हुने सम्भावना देखिँदैन। १२ महिना सडक सञ्चालनका लागि कोयाखोलामा पुल हाल्नुपर्ने र सडकलाई समेत स्तरोन्नति गर्नुपर्ने हुन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।