बेनी- एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने गन्धर्वका गीतहरु पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन्।
२ दशक अघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु। जनताका पीरव्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज वैकिल्पक पेशाको खोजीमा छन्। समाजमा घटेका घटनालाई जस्ताको तस्तै स्वरको मालामा उनेर सबैको मनै छुने गरी गीत गाउँदै घरघरमा पुग्ने गन्धर्व गायनबाटै जीविका चलाउने अवस्था नरहेपछि पेशा परिवर्तनतर्फ लागेका हुन्। ७५ वर्ष पुगिसकेका म्याग्दी खबराका लालबहादुर गन्धर्व भने आफ्नो पेशालाई सकिनसकी गाउँगाउँमा पुगेर सुनाउने गर्छन्।
लालबहादुर गन्धर्वले अहिले पनि ७ जनाको परिवारलाई गीत गाएरै पालेका छन्। 'जानेदेखि नै गीत गाउँदै गुजारा चलाउँदै आएको छु,' लालबहादुर भन्छन्, 'अरुले नगरे पनि मैले चाहिँ पुर्खाको पेशालाई अँगालिरहेको छु। यसले केही खर्चबर्च पनि जुटाएकै छु। तर, पहिला जस्तो धेरै गाउँ घुम्न र गाउन मुस्किल छ।'
अबका केही वर्षमा कुनै समयका समाचारका स्रोत समाजका सूचक गाइनेलाई गीत गाउँदै हिँडेको कसैले पनि देख्न नपाइने भन्दै लालबहादुर गुनासो गर्छन्।
नेपालमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा पनि गाइनेको ठूलो सहयोग रहेको स्थानीय टीकाबहादुर थापाले बताए। 'उनीहरु जनताको घरघरमा पुगेर परिवर्तनका गीत गाउँदै जनतालाई सुसूचित पार्ने काम गर्थे,' थापाले भने। थापाले कुनै न कुनै रुपमा गन्धर्वको कला र संस्कृतिलाई जोगाउन पहल गर्नुपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।