काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाका सांसदहरुको विरोधका बावजुद ४ विधेयकबारे सन्देश संसद्मा प्रस्तुत भएका छन्।
सभामुखले प्रतिनिधीसभामा उत्पत्ति भएका ४ विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट पारित भएको जानकारी प्रस्तुत गर्न प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई अनुमति दिएका थिए। आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २३औं संशोधन विधेयक पारित भएर राष्ट्रिय सभाबाट प्रतिनिधी सभामा फिर्ता पठाएको सन्देश प्रस्तुत गर्न अनुमति दिएपछि सांसदहरु वेल घेर्न अगाडि बढेका थिए।
बैठक सुरु हुनासाथ उठेर उनीहरुले संसदको कारबाही अवरुद्ध पारेका थिए। सभामुखले 'बस्नुस्, बसेपछि म नयाँ कुरा भन्नेछु' भन्दै फकाए पनि सांसदहरु उठिई नै रहे।
विधेयक प्रस्तुत हुनासाथ सभामुखले असार ३० गते फेरि बस्ने गरी बैठक स्थगित गरे।
यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि नेपाली कांग्रेसले आजको संसद् बैठक अवरुद्ध गर्ने जनाएको थियो।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता कुमार पौडेल 'इन्काउन्टर'को छानबिनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसकेको हो। सोही विषयमा चित्तबुझ्दो जवाफ माग गर्दै मंगलबार संसद् अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा नेपालले उक्त घटनाको छानबिनका लागि छुट्टै संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।