काठमाडौं– भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भएको भिडन्तमा ५ मिनेटको अन्तरमा २ जनाको ज्यान गएको छ।
आज बिहान ८:४५ तिर भएको घटनामा विप्लव समूहका एक जना र प्रहरीका एक जनालाई गोली लागेको थियो। गोली हानाहानबाट घाइते भएका प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राईलाई तत्काल जिल्ला अस्पताल पुर्याइयो। तर उपचारका क्रममा प्रहरी जवान राईको ९ः१५ मा र विप्लव कार्यकर्ता राईको ९ः२० मा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
भोजपुर नगरपालिका–७ हटियालाइनमा उक्त घटना भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार विप्लवका केही कार्यकर्ता हतियारसहित प्रवेश गरको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी जवान सञ्जीव राई, खेमनाथ भट्टराई र सुरेन्द्र माझी हटियालाइन पुगेका थिए।
उनीहरुले शंका लागि सोधपुछ तथा चेक गर्न खोज्दा ओखलढुंगा इन्चार्ज अन्दाजी ३५ वर्षीय नीरकुमार राईले पेस्तोल निकाली जवान राईको कोखामा प्रहार गरे। उनी इलाका प्रहरी कार्यालय लेटाङ दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान हुन्।
त्यसपछि प्रहरीले जवाफी फायर गर्दा विप्लव कार्यकर्ता नीरकुमार राई पनि घाइते भएका थिए। घाइते अवस्थामै रहेका उनी भाग्न खोजेपछि प्रहरी जवान खेमनाथ भट्टराईसँग लछारपछार भएको थियो। सोही क्रममा भट्टराईको बायाँ कुमको हड्डी भाँचिएको प्रहरीले जनाएको छ।
प्रहरी जवान भट्टराई र माझीको अवस्था सामान्य रहेको छ।
नीरकुमारको साथबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट ७ सय मिटर पश्चिममा पर्छ।
विप्लव समूहका ४/५ जना अन्य व्यक्ति पनि त्यहाँ आएको हुन सक्ने प्रहरीले जनाएको छ।
यसअघि विप्लव समूहका भोजपुरमै तीर्थराज घिमिरे र सर्लाहीमा कुमार पौडेल मारिएका थिए। काठमाडौंमा भएको बम विस्फोटमा ५ जनाको ज्यान गएको थियो।
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।