काठमाडौं- बुधबार संसद्को राज्य व्यवस्था समितिमा 'नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'माथि छलफल चलिरहेको थियो।
संसद् बैठकमा विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित थिए। समितिको बैठक चलिरहँदा भोजपुरमा भिडन्त भएको र २ जनाको मृत्यु भएको खबर सञ्चार माध्यमहरुमा प्रकाशन/प्रशारण हुन सुरु भए। समितिको बैठकमा यो विषयले पनि प्रवेश पायो।
भोजपुरमा भएको भिडन्त र मृत्युको विषय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठायो। कांग्रेस सांसद डा डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक खनालबाट विवरणको जानकारी माग गरिन्।
विधेयकमाथि चलिरहेको छलफललाई अन्तै मोडेर उनले भनिन्, ‘यो संवेदनशील विषय हो। सुरक्षा व्यवस्था के भइरहेको छ? भोजपुरमा भिडन्त भयो र मान्छेको मृत्यु भएको कुरा उठेको छ, वास्तविकता के हो?’
सांसद संग्रौलाको उक्त प्रश्नपछि समितिको छलफल विधेयकको दफाबार छलफलबाट विकेन्द्रित भएको थियो।
बुधबार बिहान भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको थियो।
सांसदको प्रश्नपछि प्रहरी प्रमुख खनालले बिहान गस्तीको समयमा दोहोरो गोली हानाहान भएको, दुवैतर्फ एक/एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएको र अन्य विवरण आउन बाँकी रहेको जानकारी गराए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।