काठमाडौं- भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भएको भिडन्तमा आज बिहान दुई जनाको ज्यान गएको छ। गोली हानहान हुँदा एक प्रहरी र एक विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हो।
भोजपुर नगरपालिका- ७ हटिया लाइनमा भएको भिडन्तमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको मृत्यु भएको हो। विप्लव समूहबाट भएका गतिविधिपछि प्रहरीको मृत्यु भएको यो नै पहिलो घटना हो।
सादा पोसाकमा गस्तीमा खटिएको प्रहरीमाथि विप्लव समूहले सुरुमा फायरिङ गरेको प्रहरीको भनाइ छ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवाडाका अनुसार विप्लव नेृतत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधि बढेको भन्नेबारे प्रहरी जानकार थियो। भोजपुर बजारमै विप्लव समूहको शंकास्पद गतिविधि बढेपछि प्रहरीले सर्च अपरेसन चलाएको थियो। सोही क्रममा सादा पोसाकमा आज ५ जना प्रहरी गस्तीमा थिए। सदरमुकामको ७ नम्बरस्थित हटिया लाग्ने ठाउँ प्रहरीमा गस्तीमा थिए। सोही क्रममा शंकास्पद मान्छे आएको जानकारी पाएपछि सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गर्न खोजे। त्यसक्रममा लछारपछार भयो। त्यस बेला प्रहरी जवान सोमनाथ भट्टराईको कुमको हड्डी भाँचियो।
लछारपछारकै क्रममा विप्लव समूहका ती कार्यकर्ताले पेस्तोलले प्रहरी जवान सञ्जीव राईमाथि गोली प्रहार गरे। सँगै रहेका अर्का प्रहरीले पनि त्यसपछि कार्यकर्तामाथि गोली प्रहार गरेका थिए।
घाइते दुवैको उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरे।
निरकुमारको साथबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ। बिहान ८:४५ तिर उक्त घटना भएको हो।
अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
यसअघि विप्लव समूहका भोजपुरमै तीर्थराज घिमिरे र सर्लाहीमा कुमार पौडेल मारिएका थिए। काठमाडौंमा भएको बम विस्फोटमा ५ जनाको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।