काठमाडौं- भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भएको भिडन्तमा आज बिहान दुई जनाको ज्यान गएको छ। गोली हानहान हुँदा एक प्रहरी र एक विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हो। घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन्। कुमको हड्डी भाँचिएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
कसरी भयो त दुई जनाको मृत्यु हुने घटना?
हामीले भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई सोधेका छौं।
उनको भनाइ जस्ताको तस्तै—
भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेृतत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधि बढेको भन्नेबारे प्रहरी जानकार थियो। भोजपुर बजारमै विप्लव समूहको शंकास्पद गतिविधि बढेपछि प्रहरीले सर्च अपरेसन चलाएको थियो।
सोही क्रममा सादा पोसाकमा आज ५ जना प्रहरी गस्तीमा थिए। सदरमुकामको ७ नम्बरस्थित हटिया लाग्ने ठाउँ प्रहरीमा गस्तीमा थिए। आज हाट लाग्न दिने थियो। हटियामा आउने/जाने र किनमेल गर्ने मान्छको बाक्लै भिड थियो।
सोही क्रममा शंकास्पद मान्छे आएको जानकारी पाएपछि सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गर्न खोजे। त्यसक्रममा लछारपछार भयो। त्यस बेला प्रहरी जवान सोमनाथ भट्टराईको कुमको हड्डी भाँचियो।
लछारपछारकै क्रममा विप्लव समूहका ती कार्यकर्ताले पेस्तोलले प्रहरी जवान सञ्जीव राईमाथि गोली प्रहार गरे। सँगै रहेका अर्का प्रहरीले पनि त्यसपछि कार्यकर्तामाथि गोली प्रहार गरेका थिए।
घाइते दुवैको उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरे।
हटियामा आउनेजानेहरुको भिड बढ्दै थियो। त्यसले गर्दा मान्छेको संख्या यति नै थियो भन्न सक्ने अवस्था थिएन।
त्यो ठाउँ अलि कर्नर परेको ओझेलको ठाउँ हो।
विप्लवका कार्यकर्ता अरु एक-दुई जना पनि हुन सक्ने अवस्था छ। हटियाको दिन भएकाले पनि ठ्याक्कै यतिको संख्यामा थिए भन्न सक्ने अवस्था भएन। उनीहरुको खोजतलास गर्ने काम भइरहेको। तर फेला परेका छैनन्।
अहिले सामान्य अवस्था छ। सुरक्षाको अवस्थामा सदृढ छ। अन्यथा केही छैन।
मृतक विप्लव समूहका राई ओखलढुंगा इन्चार्ज नीरकुमार राई भन्ने बुझिएको छ। उनको घर भने भोजपुर नै हो। भोजपुरमा मुभमेन्ट बढेकाले कुनै घटना घटाउने योजना थियो कि भन्ने आशंका पनि गरिएको छ।
मृतक राईको साथबाट १ वटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ।
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।