काठमाडौं– विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा किर्ते गरी जग्गाधनी पुर्जा बनाउने चाबहिल मालपोत कार्यालयका अधिकृतद्वय चेतनाथ ढकाल र तिर्खाराम अर्यालसहित ५४ जनालाई धरौटीमा रिहा गरेको छ।
विशेष अदालतका न्यायाधीशत्रय द्वारिकामान जोशी, रत्नबहादुर बागचन र नारायाणप्रसाद पोखरेलको इजलाशले उनीहरुसँग धरौटी माग गर्ने आदेश गरेको हो।
काठमाडौंको गोठाटार, बालुवा, मूलपानी, विष्णु गाविसका विभिन्न स्थानका जग्गाको गैरकानुनी स्रेस्ता तयार गरी विक्री वितरण गरिएको भन्दै अख्तियारले २०७४ भदौ १४ मा आरोपत्रप दायर गरेको थियो।
अख्तियारले फरक–फरक स्थानका चार थान आरोपपत्र विशेषमा दायर गरेको थियो।
विशेषले मोतिराम श्रेष्ठ समूहसँग जनही २५ लाख, धुव्रराम श्रेष्ठ समूहसँग ४० लाख, विश्वनाथ लामिछाने समूहसँग जनही ३० लाख र रामप्रसाद लामिछाने समूहसँग जनही २५ लाख रुपैयाँ धरौटी माग गरेको विशेष अदालतका रजिस्ट्रार भीमप्रसाद श्रेष्ठले बताए।
अदालतले तोकेको धरौटी बुझाएपछि सबै प्रतिवादी तारेखमा रिहा भएको श्रेष्ठले जानकारी दिए।
को–को विरुद्ध दर्ता भएको थियो मुद्दा
जग्गा किर्तेमा संलग्न भनिएका कर्मचारीमा मालपोत अधिकृत ढकाल र अर्यालसहित कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालीन नायव सुब्बाद्वय भोजराज पोखरेल र रामबाबुप्रसाद अर्याल थिए। अख्तियारले आरोपपत्रमा नायब सुब्बा सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी तथा कम्प्युटर अपरेटर लक्ष्मणप्रसाद खतिवडा र खरिदार दिव्यराज घिमिरे विरुद्ध पनि मुद्दा दायर गरेको थियो।
कर्मचारीले मिलेमतोमा गैरकानुनी ढंगले स्रेस्ता खडा गरी, कार्यालयमा रहेको दर्ता बाँकी स्रेस्ता केरमेट तथा प्रमाणित गरी, कार्यालयबाट वैधानिक रुपमा निर्णय नै नभएका जग्गाहरुको विवरण ठीक देखाएर किर्ते गरेको अख्तियारको आरोपत्रपमा उल्लेख छ।
अख्तियारले कर्मचारीले जग्गाधनीहरु हरिनारायण श्रेष्ठ, हरिलाल श्रेष्ठ, होमबहादुर बिष्ट, धर्म महर्जन, श्यामसुन्दर दाहाल, विश्वनाथ लामिछाने र ध्रुवराम श्रेष्ठसँग १८ लाख ८२ हजार रुपैयाँ रकम लिएको दाबी आरोपपत्रमा उल्लेख गरेको थियो।
जग्गा किर्तेमा संलग्त जग्गाधनीहरूमा काजिलाल श्रेष्ठ, हरिभक्त श्रेष्ठ, टिकानारायण श्रेष्ठ, मोहनमाया श्रेष्ठ, चेतबहादुर मिजार, श्रीकृष्ण नगरकोटी, पुरुषोत्तम थापा श्रेष्ठ, घनश्याम कार्की, प्रेमबहादुर कार्की, रामहरि ढकाल, रामबाबु ढकाल, रामेश्वर ढकाल, श्यामबहादुर मिजार, काजिलाल श्रेष्ठ, भरत कारञ्जित, कृष्णप्रसाद लामिछाने र रामप्रसाद लामिछाने थिए।
त्यस्तै, उमादेवी गुरुवाचार्य, उज्वल थापा श्रेष्ठ, लिलाकुमारी रेग्मी धिताल, दुर्गालाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, श्रीधर देवकोटा, राजु थापा, शान्ति वैद्य, रामकेशरी श्रेष्ठ, मदनबहादुर थापा, बहत्तमगोपाल श्रेष्ठ, नरबहादुर दोचे, रामगोपाल डंगोल, रामकृष्ण डंगोल, धनबहादुर महर्जन, मोतिराम श्रेष्ठ, नारायणीदेवी श्रेष्ठ, गम्भीरबहादुर चाँदिकार, प्रेमबहादुर केसी र सुशीला रामुदामु पनि जग्गा किर्तेमा संलग्न रहेको अख्तियारको ठहर थियो।
जग्गाधनी र मालपोत कार्यालयका कर्मचारीले जग्गा खरिद गर्ने विचौलियासँगको साँठगाँठमा किर्ते गरेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।