काठमाडौं– सर्वोच्च अदालतले नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारबाही गर्न सक्ने कानुनी बाटो खुला गरिदिएको छ।
द्वन्द्वकालमा भागेका पूर्व सैनिकद्वय झल कुमार भगत र सिंहबहादुर शाहीले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा फैसला गर्दै सर्वोच्चले आगामी दिनमा पनि कारबाही गर्न सक्ने बाटो खुला गरिदिएको हो।
न्यायाधीशद्वय अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलाशले मंगलबार यस्तो फैसला गरेको हो।
द्वन्द्वकालमा सेनाबाट भागेर माओवादी बनेका उनीहरू द्वन्द्व समाप्त भएपछि सेनाको कारबाहीमा परेका थिए।
पूर्व सैनिक भगतले २०६३ साल साउन ८ गते राति आफ्नो जिम्माका रहेको र साथीको समेत हतियार चोरेर माओवादीमा गएका थिए।
२०७४ साल मंसिर आठ गते प्रहरीले उनलाई मोरङबाट पक्राउ गरेको थियो।
त्यसैगरी पूर्व सैनिक शाही पनि २०६१ साल पुष १८ गते कृष्णभीरमा भएको माओवादी र सेनाको दोहोरो भिडन्तपछि हतियार लिएर माओवादीमा गएका थिए।
सिंहलाई २०७४ साल फागुन ७ गते कालिकोटबाट प्रहरीले पक्राउ गरेर र सेनालाई बुझाएको थियो। साहीले आफूलाई माओवादीले अपहरण गरेर ६ महिनापछि छाडेको बताएका छन्।
समरिक जनरल सैनिक अदालतले उनीहरूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।
उक्त घटना बृहत शान्ति सम्झौताअनुसार भएकाले यो मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्रभित्र पर्छ भन्दै उनीहरूले विशेष अदालतमा रिट हालेका थिए।
विशेष अदालतले पनि सैनिक अदालतको फैसला सदर गरिदियो।
त्यसपछि सर्वोच्चमा रिट हालेका उनीहरूको रिट खारेज गर्दै सर्वोच्चले विशेष अदालतको फैसला सदर गरिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।