काठमाडौं– नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताएका छन्।
सञ्चार केन्द्र नेपालले आज आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्रियामा उनले जनादेशलाई चाँडोभन्दा चाँडो निश्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए। उनले निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गरे।
'अद्यावधिक निर्वाचन भइसकेपछि मुलुकलाई तार्किक निश्कर्षमा पुर्याउने काम गर्नुपर्छ', उनले भने, 'लोकतान्त्रिक मूल्यमान्यता अनुसार निर्वाचन भएपछि मत परिणाम सार्वजनिक गर्नुपर्छ।'
नेम्वाङले प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक नगरेर सरकार गठनको समयलाई लम्ब्याउन खोजिएको आरोप समेत लगाए।
उनले सरकारले प्रदेश प्रमुख मात्र नभई प्रदेश मुकाम पनि तोक्नुपर्ने बताए। 'जिम्मेवारी पूरा गर्ने ठाउँमा बस्न रहर गर्ने तर बसिसकेपछि त्यो जिम्मेवार पूरा नगर्ने काम हुनुहुँदैन', उनले थपे, 'कि जिम्मेवारी पूरा गर्न नसक्ने हो भने कुर्सी छोड्नुपर्यो।'
प्रदेश सांसदलाई प्रदेश मुकाममा नभएर काठमाडौंमा नै शपथ खुवाउने काम सरकारले गरिरहेको भन्दै त्यसले सम्बन्धित प्रदेशका सांसद र जनताको भावनाविपरीत हुने तर्क गरे
नेता नेम्वाङले प्रतिनिधिसभा अगाडि राष्ट्रियसभा गठन भए संघीय संसद्मा महिलाको ३३ प्रतिशत नपुग्ने जिकिर पनि गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।