काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको कूटनीतिक अभ्यास समग्रमा सन्तुलित रहेको बताएका छन्।
विष्णु रिजालद्वारा सम्पादित पुस्तक ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ विमोचन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कतिपय व्यक्तिका कमजोरी भने समीक्षाका विषय हुन सक्ने बताए।
उनले ठूला मुलुकहरुले अन्य तरिकाले पनि आफ्नो सामर्थ्य देखाउन सक्ने तर नेपालजस्ता साना देशले भने कूटनीतिक कौशल नै भएको बताए। 'ठूला देशले पनि बुझ्नुपर्छ, एउटा मात्र देशले चाहेर केही हुनेवाला छैन', उनले भने।
मन्त्री ज्ञवालीले अहिले नेपालले समग्रमा असहज अवस्थामा काम गरिरहेको बताए।
'कूटनीतिक अभ्यासमा साना देशलाई अनेकन समस्या छ। आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर त्यसैबाट निर्देशित हुनुपर्छ। आफ्नो राष्ट्रिय हितको कुरा गर्दा अरु कसैको राष्ट्रिय अहित गर्नु होइन। हामीले आफ्नो राष्ट्रिय हितको कुरा गर्दा त्यो कसैको विरुद्धमा हुँदैन', उनले प्रष्ट पारे।

उनले सफल कूटनीतिक अभ्यासमा तीन वटा कुरा महत्त्वपूर्ण हुने बताए। 'एउटा विषयगत ज्ञान नै हो। खटिएको मुलुकको बारेमा जानकारी हुनुपर्छ। आफ्नो देशको नीतिगत प्राथमिकता र सिद्धान्तको बारेमा जानकारी हुनुपर्छ। दुई देशबीच कस्ता स्वार्थ मिल्छन् र कस्ता मिल्दैनन्। हामीले प्राप्त गर्न खोजेको के हो, त्यसको जानकारी हुनुपर्छ। दोस्रो इमानदारिता हो। त्यो भएन भने ज्ञानले मात्रै काम गर्दैन। समग्रमा राम्रो भए पनि एकाध राजदूत इमानदार हुन नसक्दा देशले नै लज्जा महसुस गर्नुपरेको छ। तेस्रो कुरा, राजदूतहरु सिर्जनशील पनि हुनुपर्छ। सधैंभरि हेडक्वार्टरको निर्देशन सम्भव नहुन सक्छ', उनले भने।
सरकारले राजदूत भएर जानेहरुका लागि 'कन्ट्री स्पेसिफिक प्रोफाइल' बनाएको मन्त्री ज्ञवालीले जानकारी दिए। त्यसले राजदूतहरुलाई त्यस देशसँग हाम्रो देशको अपेक्षा के हुन् भन्ने जानकारी हुने उनले बताए।
मन्त्री ज्ञवालीले राजदूत नियक्त भएर गएकाहरुसँग मन्त्रालयमा एक प्रकारको एक्सन रुम राखेर नियमित ब्रिफिङ लिने र कार्यक्षमताको आधारमा मूल्यांकन गर्ने कोसिस गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।