काठमाडौं– संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकमा पत्रकार महासंघले उठाउँदै आएको सरोकारलाई संशोधनमार्फत सम्बोधन गर्न सत्तापक्ष तयार भएको छ।
मंगलबार नेपाल पत्रकार महासंघ प्रतिनिधिमण्डल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा महासचिव विष्णु पौडेल, राष्ट्रियसभामा नेकपाका नेता दिनानाथ शर्मा, कानुनमन्त्री भानुभक्त ढकाल, सांसद योगेश भट्टराई तथा राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईबीच छलफल र वार्ता भएको थियो।
'खिमलाल भट्टराईले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव तयार पारी महासंघले उठाउँदै आएको मिडिया काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्ड-जरिवाना लगायतका सरोकारहरुलाई सम्बोधन गर्ने तथा सञ्चार सम्बन्धी अन्य विधेयकहरुमा पनि महासंघसँग छलफल गरी अघि बढाउने लिखित प्रतिवद्धता व्यक्त भएको छ', महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सहमतिसँगै महासंघले सञ्चालन गर्दै आएको तेस्रो चरणका सडक संघर्षका बाँकी कार्यक्रमहरु स्थगित गरेको छ।
त्यस्तै, खिमलाल भट्टराईले छुट्टै विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिल विधेयकमा संविधान र संसदीय प्रक्रिया बमोजिम तपाईंहरुको चासो र सरोकारलाई सम्बोधन गर्ने आफ्नो प्रष्ट प्रतिबद्धता रहेको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।