काठमाडौं- विशेष अदालतले बालस्वास्थ्य महाशाखाका तत्कालीन निर्देशक डा श्यामराज उप्रेतीसहित १४ कर्मचारीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
विशेष अदालनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको दाबी प्रमाणित हुन नसकेको भन्दै मुद्दा दर्ता भएको ३ वर्षपछि आइतबार सफाइ दिने फैसला सुनाएको हो।
अख्तियारले बालस्वास्थ्य महाशाखाका तत्कालीन निर्देशक डा श्यामराज उप्रेती र उनी अघिका निर्देशक डा तारानाथ पोखरेलसहित १४ जनाविरुद्ध २०७१ कातिक १७ मा १ करोड १२ लाख ८३ हजार ३ सय ७१ रुपैयाँ बिगोसहित भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु चण्डीराज ढकाल र प्रमोदकुरमा वैद्य श्रेष्ठको इजलाशले सफाइ दिने फैसला सुनाएको हो। अख्तियारले उनीहरुको भ्रष्टाचारको प्रकृति अनुसार ६ वर्षसम्म कैद सजायको माग गरेको थियो।
बालबालिकालाई विभिन्न खोप लगाउने कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विभागका लेखा अधिकृत दीपकप्रसाद तिमिल्सिना, जनस्वास्थ्य अधिकृत ठाकुर बस्नेत, वरिष्ठ जनस्वास्थ्य अधिकृत लिलाविक्रम थापा, खोप सुपरभाइजर अधिकृत प्रेमकुमार श्रेष्ठ, सुपरभाइजर अधिकृतहरु शम्भुबाबु तिवारी र शंकरप्रसाद आचार्यविरुद्ध मुद्दा दायर गरेको थियो।
यस्तै, जनस्वास्थ्य अधिकृत शंकरदेवी जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपकराज चौलागाईं, शाखा अधिकृतहरु डिकबहादुर विष्ट र हरिप्रसाद अधिकारी तथा जनस्वास्थ्य निरीक्षक महेन्द्रप्रकाश शर्मा विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो।
अख्तियारले लेखा अधिकृत तेजप्रकाश प्रसाईंलाई तत्कालीन समयमा फरार देखाउँदै आरोपपत्र दायर गरेको थियो। खोप कार्यक्रम विस्तार गर्ने नाममा नक्कली हवाइ टिकट, होटलको बिल, यातायात खर्च तथा पेट्रोलका नाममा बिल पेश गरी लागतभन्दा बढी रकम लिएको, फोटोकपी तथा स्टेसनरीका नाममा रकम दुरुपयोग गरेको दाबी आरोपपत्रमा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।