काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि भन्दै हालसम्म साँढे ५ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ।
आज एक प्रेस बिज्ञप्ती जारी गर्दै आयोगले गत शुक्रबारसम्म निर्वाचनका लागि ५ अर्ब ६२ करोड २१ लख ४७ हजार २ सय ९९ सय रुपैयाँ खर्च भएको जनाएको हो।
निर्वाचन आयोगले ७७ जिल्लामा ४ अर्ब ६ करोड १४ लाख ६ हजार रुपैयाँ निकासा भएको र आयोगकोे केन्द्रीय कार्यालयबाट हालसम्म ७६ करोड ६ लाख ७८ हजार ६ सय ९१ रुपैयाँ खर्च भएको बताएको छ।
सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आयोगलाई १० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो। आयोगले प्राप्त रकममा ३० करोड रुपैयाँ पूँजीगत खर्चतर्फ रकमान्तर गरेको र बाँकी रकम निर्वाचन खर्चका लागि प्रयोग गरेको जनाएको छ।
आयोगले प्राप्त बजेटमध्ये आफूसँग ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैयाँ बाकी रहेको समेत जानकारी दिएको छ।
सो रकमबाट राष्ट्रियसभा निर्वाचनसँगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिने आयोग प्रवक्ता नवराज ढकालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा गरी मंसिर १० र २१ गते सम्पन्न भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।