काठमाडौं- विवादास्पद व्यापारी तथा सञ्चार उद्यमी अजेय सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन्।
सुमार्गीले आइतबार जिल्ला अदालत काठमाडौंमा दिएको निवेदनमा गाली-बेइज्जती गरे बापत सिरोहियासँग २५ करोड भराई पाउन माग गरेका छन्।
सुमार्गीले निवेदनमा सिरोहियाले व्यावसायिक आर्थिक कठिनाई दर्साउँदै श्रीमती स्वस्तिका सिरोहियाको नाममा रहेको काठमाडौं महानगरपालिकाको तीनकुने स्थित काठमाडौं मार्ट प्रालिको नाममा रहेको ९–४–० जग्गा किनिदिन आग्रह गरेपछि २०७० असार १६ मा खरिद गरेको र हाल आएर बिक्री गरेकै दरमा फिर्ता माग गरेको तर आफूले दिन नसक्ने बताएपछि कान्तिपुर पत्रिका मार्फत गाली बेइज्जती गरेको दाबी गरेका छन्। कान्तिपुरले आफ्ना सबै प्रकाशन मार्फत सुमार्गीले अवैध तरिकाले सम्पत्ती आर्जन गरेको भन्दै आफ्नो बेइज्जती गरेको सुमार्गीले दाबी गरेका छन्।
विदेशमा लगानी भन्दै कालोधन भित्र्याएको भनी बिनाप्रमाण समाचार प्रकाशन, प्रशारण गरेको र उक्त समाचारका कारण आफ्नो व्यावसायिक, अन्तर्राष्ट्रिय छवि र कूटनीतिक सहकर्मीबीच प्रतिष्ठामा आँच पुर्या उने काम गरेको दाबी निवेदनमा गरिएको छ।
विपक्षीले गरेको गाली गालौजका कारण आफ्नो उद्योगमा नकारात्मक असर पुगेको , वैदेशिक लगानी भित्र्याउनसमेत समस्या भएकाले गाली बेइज्जती ऐनको दफा ५ अनुसार हदैसम्मको कारबाही हुनुपर्ने माग सुमार्गीको निवेदनमा छ।
यस्तो छ सुमार्गीले दर्ता गरेको निवेदन





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।