काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका ८५ जना कर्मचारी पछिल्लो १० महिनामा कारबाहीमा परेका छन्। न्यून बिजकीकरणमा सहयोग गर्नेदेखि सुन तस्करीमा संलग्न कर्मचारी कारबाहीमा परेका हुन्।
विमानस्थल स्रोतका अनुसार, कारबाहीमा पर्नेहरुमा २ जना उपसचिव समेत छन्। भन्सार कार्यालयमा नेतृत्व परिवर्तन भएसँगै ठूलो संख्यामा कर्मचारीहरु कारबाहीमा परेका हुन्। एक मोटरसाइकल आयातकर्ता कम्पनीसँग मिलेर न्यून मूल्यांकन गरी भन्सार छलीमा सघाएको आरोपमा हालै एक उपसचिव समेत कारबाहीमा परेका थिए।
सहसचिव नारायण सापकोटा विमानस्थलको प्रमुख भन्सार अधिकृतमा गत फागुनमा सरुवा भएका थिए। कार्यालयमा गलत गतिविधिमा संलग्न ठूलो संख्यामा कर्मचारीहरुलाई उनले कारबाही गरेका हुन्।
सुनदेखि चिम्पाञ्जी तस्करीसम्ममा कर्मचारीको साथ
विमानस्थलमा सुनदेखि चिम्पाञ्जी तस्करीसम्म कर्मचारीहरु पक्राउ परेका छन्।
गत वर्ष बरामद भएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारकै कर्मचारीले सहयोग गरेको खुलेको थियो। जसमा भन्सारका कर्मचारीहरु श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई नेपाल प्रहरीको सिआइबीले पक्राउ गरेको थियो। उनीसहित ६ जना कर्मचारीको सुन तस्करीमा संलग्नता देखिएको थियो।
त्यस्तै, गत असोजमा चिम्पाञ्जी तस्करीको आरोपमा पनि भन्सारका तीन कर्मचारी विरुद्ध अदालतमा फौजदारी मुद्दा दायर गरिएको छ। अधिकृत आशुतोष राई, नायव सुब्बा चुडामणि शर्मालाई पक्राउ गरिएको थियो। नासु लीला पनेरुलाई समेत मुद्दा दायर गरिएको छ।
त्यस्तै, भन्सारमा विभिन्न किसिमको आन्तरिक बदमासीमा संलग्न कर्मचारीहरु पनि विभागीय कारबाहीमा परेका छन्। गलत गतिविधिमा संलग्न सबै कर्मचारीलाई आफूले कारबाही गरेको प्रमुख भन्सार अधिकृत सापकोटा बताउँछन्।
भिआइपी कक्षमा नयाँ स्क्रिनिङ
विमानस्थलको भिआइपी कक्षमा विगतमा यात्रुका लगेज स्क्रिनिङ हुने गरेको थिएन। मेसिन अभावमा भिआइपी कक्षको चेकजाँच प्रणाली कमजोर थियो। हाल भन्सार कार्यालयले नयाँ स्क्रिनिङ मिसिन जडान गरी भिआइपी लगेज चेकिङलाई प्रभावकारी बनाएको छ।
त्यस्तै, भन्सार कार्यालय विभिन्न किमिसको विवादमा परेपछि संवेदनशील स्थानमा २४ वटा सिसिटिभी जडान गरिएको प्रमुख भन्सार अधिृकत सापकोटाले बताए। यात्रु जाँचपास शाखामा होलबडी स्क्यानर जडान गरिएको छ।
कार्गाे शाखामा हुने बदमासी रोक्न नयाँ लेजर मेसिन जडान गरिएको र लाइभ मनिटरिङ सिस्टम सुरु गरिएको छ। भन्सार कार्यालयले कार्गाे शाखाबाट विमानस्थल हुँदै काउन्टरसम्म जाने बाटो पनि बन्द गराएको छ। काउन्टरमा सेन्सरयुक्त 'गेट र चिप्स' प्रयोगमा ल्याई शंकास्पद र भन्सारजन्य वस्तुको ट्रयाकिङ प्रणालीलाई वैज्ञानिक बनाइएको सापकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।